विश्वकप लिग-२ : नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ।
ओमानको मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ।
जारी शृङ्खलामा दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छन्। यसअघि आ-आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले र ओमानले क्यानडालाई नै ४१ रनले पराजित गरेका थिए।
एकदिवसीय (ओडिआई) मान्यता जोगाइराख्नका लागि नेपाललाई आजको खेल निकै महत्त्वपूर्ण छ।
हाल अङ्क तालिकामा ओमान चौथो स्थानमा छ भने नेपाल छैटौँ स्थानमा रहेको छ। आज जित हात पारे नेपालले तालिकामा आफ्नो स्थिति थप सुधार गर्नेछ।
आईसीसीको प्रावधानअनुसार लिग-२ को शीर्ष ६ भित्र पर्ने टोलीले सिधै एकदिवसीय मान्यता कायमै राख्नेछन् भने पुच्छारका दुई टोलीले मान्यता जोगाउन ‘विश्वकप क्वालिफायर प्लेअफ’ खेल्नुपर्ने हुन्छ।
असोज २७, २०८३ मंगलबार १०:०३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।