क्रिकेटमा पुरानै समस्या ‘ब्याड लाइट’ : नियम फेरिए पनि डर्बन टेस्टमा किन प्रयोग भएन ‘पिङ्क बल’ ?
एजेन्सी : टेस्ट क्रिकेटको सबैभन्दा पुरानो र दिक्कलाग्दो समस्या हो- ‘ब्याड लाइट’ अर्थात् कमजोर प्रकाश। खेल रोमाञ्चक मोडमा पुगेका बेला प्रकाश कम भएर खेल रोकिनु खेलाडी र दर्शक दुवैका लागि निराशाजनक हुन्छ।
अहिले दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच डर्बनमा चलिरहेको पहिलो टेस्ट खेलमा फेरि यही समस्या दोहोरिएको छ। पहिलो तीन दिनमै प्रकाश कम भएका कारण ६० ओभरभन्दा बढीको खेल खेल्नै पाइएन।
विडम्बना के भने, यो समस्या समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भर्खरै मात्र नयाँ नियम ल्याएको थियो, तर दुवै टोलीले त्यसलाई प्रयोग नै गरेनन्।
डर्बनमा के भइरहेको छ ?
डर्बनको किङ्समिड मैदानमा अक्टोबर महिनामा टेस्ट खेलिएको यो पहिलो पटक हो। यहाँ दिउँसोको सुरुवाती समयमा कडा घाम लागे पनि दिउँसो ढल्कँदै गएपछि मौसम अचानक बदलिने गर्छ।
समुद्री हावाका कारण दिउँसोपछि बाक्लो र होचो बादल लाग्ने भएकाले मैदानमा चाँडै अँध्यारो छाउँछ। पहिलो दिन दिउँसो ३:२३ बजे नै खेल रोकियो। ९० ओभर हुनुपर्नेमा जम्मा ६५.२ ओभर मात्र खेल हुन सक्यो।
दोस्रो दिन निर्धारित समयभन्दा ३५ मिनेट अगाडि (दिउँसो ४:२५ बजे) खेल सकियो भने तेस्रो दिन दिउँसो ४:३१ बजे नै खेल स्थगित गर्नुपर्यो।
अम्पायरहरूका अनुसार खेलाडीको सुरक्षाका लागि लाइट कम भएपछि खेल रोक्नुको विकल्प हुँदैन।
नियम के थियो, समस्या कहाँ भयो?
ब्याड लाइटको यही समस्या समाधान गर्न आईसीसीले भर्खरै आफ्ना नियमहरूमा संशोधन गरेको थियो। नयाँ नियमअनुसार यदि कुनै मैदानमा प्रकाशको समस्या आउने सम्भावना छ भने खेल सुरु हुनुअगावै दुवै टोलीको सहमतिमा रातो बलको सट्टा ‘पिङ्क बल’ प्रयोग गर्न सकिन्छ।
तर, यसको एउटा सर्त छ- खेलको बीचमा रातो बललाई हटाएर पिङ्क बल प्रयोग गर्न पाइँदैन। पूरा खेल नै पिङ्क बलले खेल्ने सहमति खेल सुरु हुनुअघि नै हुनुपर्छ। डर्बन टेस्ट सुरु हुनुअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच यसबारे कुनै छलफल नै भएन र खेल पुरानै रातो बलले सुरु भयो।
‘पिङ्क बल’ प्रति किन छ हिचकिचाहट ?
फ्लडलाइटमा रातोभन्दा पिङ्क बल प्रस्ट देखिने भएकाले डे-नाइट टेस्टमा यसको प्रयोग गरिन्छ। तर अझै पनि धेरै टोलीहरू यो बल प्रयोग गर्न हिचकिचाउँछन्।
दक्षिण अफ्रिकाका पूर्वबलर शन पोलकका अनुसार क्रिकेटमा पिङ्क बललाई लिएर नकारात्मक धारणा छ।
“टोली सस्तैमा समेटियो भने बल बढी घुम्यो भनेर दोष दिइन्छ, धेरै रन बन्यो भने बल नरम भयो भनिन्छ,” पोलक भन्छन्, “तर पिङ्क बल प्रयोग गरेको भए हामीले डर्बनमा ४५ ओभरभन्दा बढी खेल हेर्न पाउँथ्यौँ।”
यसबाहेक अन्य टोलीहरू अस्ट्रेलियाविरुद्ध पिङ्क बलले खेल्न डराउँछन्। किनभने अस्ट्रेलियाले विश्वमै सबैभन्दा बढी (१५ वटा) डे-नाइट टेस्ट खेलिसकेको छ र उसका बलरहरू पिङ्क बलमा निकै माहिर छन्। अस्ट्रेलियाका मिचेल स्टार्क एक्लैले पिङ्क बलबाट ८९ विकेट लिइसकेका छन्।
समाधान के हुन सक्छ ?
दक्षिण अफ्रिकाकै अर्का पूर्वबलर भर्नन फिलान्डरका अनुसार खेल सुरु हुनुअघि टोलीहरूलाई सहमति गर्न दिनुभन्दा खेलको बीचमै अम्पायरले बल परिवर्तन गर्ने अधिकार पाउनुपर्छ।
“यो निर्णय खेलाडीको हातबाट खोसेर अम्पायरलाई दिनुपर्छ,” फिलान्डर भन्छन्, “प्रकाश कम भएपछि अम्पायरले नै खेल नरोकी पिङ्क बल प्रयोग गर्न लगाउने नियम आईसीसीले बनाउनुपर्छ।”
नियम भएर पनि प्रयोगमा नआउँदा दर्शकले भने पूरा खेल हेर्नबाट वञ्चित हुनुपरेको छ। क्रिकेटको यो पुरानो समस्या समाधान गर्न अब क्रिकेट बोर्डहरूले थप व्यावहारिक निर्णय लिनुपर्ने आवाज उठ्न थालेको छ।
असोज २६, २०८३ सोमबार १४:१३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।