एनपिएल तेस्रो सिजनमा पनि रक्सीको विज्ञापन, प्रोबब्लीको आवरणमा पोखरा र सुदूरपश्चिमले कार्ल्सबर्गको प्रचार गर्दै

एनपिएल तेस्रो सिजनमा पनि रक्सीको विज्ञापन, प्रोबब्लीको आवरणमा पोखरा र सुदूरपश्चिमले कार्ल्सबर्गको प्रचार गर्दै

काठमाडौं : अपि हिमाललाई समर्पित गर्ने भन्दै आइतबार  नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले नयाँ जर्सी सार्वजनिक गर्यो। ‘अपि एडिसन’ नाम दिएको जर्सीको उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सम्पदा, पर्यटन र जैविक विविधतालाई प्रवर्द्धन गर्ने दाबी गरियो।

त्यही अपि एडिसनको जर्सीको कुमतिर हेर्ने हो भने एउटा हरियो लोगो देखिन्छ। जर्सीको नमुनामा आधा मात्र देखिने गरी राखिएको यो लोगो हो प्रोबब्लीको। सुदूरपश्चिम रोयल्सलाई स्पन्सर गरेको प्रोबब्ली कुन उत्पादन वा ब्रान्ड होला भनेर सर्च गर्ने हो भने यस्तो कुनै ब्रान्ड फेला पर्दैन। के हो त यो ?

उकेराले एनपिएलमा सहभागी आठै फ्रेन्चाइज टिमले तेस्रो सिजनका लागि आफ्नो सामाजिक सञ्जालमा राखेका प्रमोशनल सामग्रीहरूको अध्ययन गर्दा अन्य टिमको तस्बिर र जर्सीमा यस्तो लोगो देखिएन। तर पोखरा एभेन्जर्सले मजाले जर्सीदेखि प्रचार सामग्रीमा उही आकार अनि प्रकारको लोगो राखेको देखियो। पोखरा एभेन्जर्सको जर्सीमा भएको लोगो भने प्रस्ट देखियो। 

आखिर यो कतै उत्पादनै नदेखिएको प्रोबब्ली के हो त जसले एनपिएलमा दुई टिमलाई प्रायोजन गर्दैछन्?  यसका लागि त्यति धेरै माथापच्ची गरिराख्नु पनि पर्दैन। यसको रंग, अक्षरको आकार-प्रकार अनि त्यसमा राखिएको सानो लोगो हेरे सहजै पत्ता लाग्छ-यो कार्लसबर्ग बियरको सरोगेट अर्थात् छद्मभेसी विज्ञापन हो।

कार्ल्सबर्ग र प्रोब्बलीको सम्बन्ध 

डेनिस बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने कार्ल्सबर्ग बियरले  आफ्नो बजारीकरण नाराका रूपमा एउटा वाक्यको प्रयोग गर्ने गरेको छ -सम्भवतः संसारको उत्कृष्ट बियर। अर्थात् अंग्रेजीमा  "Probably the best beer in the world"। उसले मदिरा सम्बन्धी नीति हेरेर यो नाराको प्रयोग गर्ने गरेको छ। उसले कहिलेकाहीँ प्रोबब्ली (Probably) शब्दको मात्र प्रयोग पनि गर्छ।

कार्ल्सबर्गले यसरी नाराको एक मात्र शब्द राखे पनि त्यसको अक्षरको आकार प्रकार ठ्याक्कै कार्ल्सबर्गककै राख्छ अनि ब्याकग्राउन्ड हरियो राखेर उसले बियरको बोतलमा प्रयोग गर्ने आफ्नो लोगो राख्छ। एनपिएलका दुई टिम सुदूरपश्चिम अनि पोखरा एभेन्जर्सले राखेको लोगो हेर्ने हो भने यही देखिन्छ।

कानुनले 'बियर' वा 'मदिरा' शब्द र बोतल देखाउन रोक लागेका नेपाल लगायतका देशहरूमा चोर बाटोबाट मदिराको विज्ञापन गर्न कार्ल्सबर्गले यो उपाय अपनाउने गरेको उसको विज्ञापनको शैली हेर्दा प्रस्ट हुन्छ। कार्ल्सबर्गले आफ्नो उत्पादनको मदिराको प्रचार प्रतिबन्ध रहेका देशहरूमा आफूलाई 'Probably' ब्रान्डको रूपमा प्रस्तुत गर्ने गरेको छ। उसले एनपिएलमा पनि यही छद्मशैली अपनाएको र आठ टिममध्ये दुई टिमले खेलको माध्यमबाट मदिराको प्रचार गर्न सहयोगी बनेको प्रस्ट देखियो।

एनपिएल सुरुदेखि नै आर्थिक बदमासीसँगै अनलाइन जुवाको प्रवर्धन र मदिराको विज्ञापनमा बदनाम छ। पहिलो सिजनमा उसले मिडिया पाट्नर बनाउँदै अनलाइन जुवा खेलाउने कम्पनीको प्रचारमा टीयू मैदानको दुरुपयोग गरेको थियो। दोस्रो सिजनमा त एक कदम अगाडि बढेर उसले अनलाइन जुवासँगै रक्सीको ब्रान्डलाई पानी भन्दै मैदानभरि प्रचार गरेको थियो।

वालेन शाहको नेतृत्वमा सरकार बनेसँगै अनलाइन जुवा र सट्टेवाजी गराउने अनलाइन प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने निर्णय भयो। अहिलेसम्म क्यानले सार्वजनिक गरेको प्रचार सामग्रीमा कुनै जुवा खेलाउने ब्रान्ड देखिएको छैन। मदिरा पनि देखिएको छैन। तर एनपिएलमा सहभागी दुई फ्रेन्चाइजले भने चोर बाटो समातेर कार्ल्सबर्ग बियरको ब्रान्ड प्रोबब्ली आफ्नो जर्सीमा राखेर प्रचार गर्ने रणनीति बनाएको देखियो।

नेपालमा मदिरा तथा सुर्तीजन्य पदार्थको सार्वजनिक प्रचार प्रसारमा सर्वोच्च अदालतले नै प्रतिबन्ध लगाएको छ। उसले यसको अनुगमनको जिम्मा प्रधानमन्त्री कार्यालयको सचिवलाई तोकेको छ। तर खेल लगायतका अन्य माध्यमबाट यसरी नै चोर बाटोबाट मदिराको प्रचारकोक्रम भने रोकिएको छैन। नेपालमा विज्ञापनको नियमन विज्ञापन बोर्डले गर्दै आएको छ।

असोज २५, २०८३ आइतबार २१:४८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।