रोहितको कीर्तिमानी शतकसँगै नेपालको सानदार जित, लिग-टु मा क्यानडा २४ रनले पराजित
काठमाडौं : कप्तान रोहित पौडेलको ऐतिहासिक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गतको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ।
नेपालले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ११ रनमा समेटियो।
२ सय ३६ रनको चुनौती पछ्याउने क्रममा क्यानडाको सुरुवात खराब भयो। नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले समान २-२ विकेट लिए।
टस जितेर पहिले फिल्डिङ रोजेको क्यानडाविरुद्ध ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। नेपालको सुरुवात पनि निराशाजनक थियो। तेस्रो ओभरमा १० रन जोड्दा नेपालले २ विकेट गुमाइसकेको थियो।
रोहित पौडेलले बसिर अहमदसँग मिलेर चौथो विकेटका लागि ७७ रनको महत्त्वपूर्ण साझेदारी गरेर खेललाई लयमा फर्काएका थिए। रोहितसँग गुल्सन झाको साझेदारीमा छैटौँ विकेटका लागि ८२ रन बन्यो। गुल्सनले ३४ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४८ रन बनाए। रोहितले १२५ बलमा ८ चौका र १ छक्काको मद्दतमा आफ्नो शतक पूरा गरे र १०१ रन बनाएर आउट भए।
एकदिवसीय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यससँगै उनी नेपालका लागि ओडिआईमा ३ वटा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। यसअघि कुशल भुर्तेल, आशिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २-२ शतक बनाएका छन्। रोहितले यसअघि टियु मैदानमा पपुवा न्युगिनी र दुबईमा युएई विरुद्ध शतक बनाएका थिए।
क्यानडाका लागि अखिल कुमारले १० ओभरमा १ मेडनसहित ६८ रन दिएर सर्वाधिक ४ विकेट लिए। सुखजिन्दर सिंहले ३ र जाहिद श्रीजादले २ विकेट लिए।
अङ्कतालिकामा नेपालको सुधार
यो जितसँगै नेपाल लिग-टु को अङ्कतालिकामा छैटौँ स्थानमा उक्लिएको छ। नेपालको ३३ खेलमा १२ औँ जित दर्ता गर्दै २६ अंक पुगेको छ। पराजित क्यानडा भने २५ अङ्कसहित सातौँ स्थानमा झरेको छ।
असोज २५, २०८३ आइतबार २१:३७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।