नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’सँगै १३औँ कृति अवार्ड्सको औपचारिक शुभारम्भ

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’सँगै १३औँ कृति अवार्ड्सको औपचारिक शुभारम्भ

काठमाडौं : नेपाल विज्ञापन संघ (आन) ले ‘कृति इग्नाइट’ कार्यक्रम आयोजना गर्दै ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ को औपचारिक शुभारम्भ गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा काठमाडौँमा आयोजित विशेष समारोहबीच अवार्डको उद्घाटन सत्र सम्पन्न भएको हो।

नेपालको विज्ञापन तथा आमसञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको कदर गर्दै प्रदान गरिँदै आएको यस अवार्डको १३औँ संस्करणमा आनका गैर-सदस्यहरूका लागि समेत मनोनयन खुला गरिएको छ।

यस कदमले कृति अवार्ड्सलाई थप व्यापक, समावेशी र राष्ट्रिय स्तरमा प्रतिष्ठित बनाउने वक्ताहरूले बताएका छन्।

यस पटकको अवार्डलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र विज्ञापन बोर्डले समर्थन गरेका छन्।

त्यस्तै ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), अकोराब, रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्स नेपाल सह-आयोजकका रूपमा सहभागी छन्।

समारोहमा नेपालको विज्ञापन उद्योगको विकासक्रम समेटिएको अडियो-भिजुअल प्रस्तुत गरिएको थियो।

कार्यक्रममा आनका पूर्वअध्यक्ष भास्करराज राजकर्णिकार, शीर्षक प्रायोजक सारस बेभरेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल, विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

आनका अध्यक्ष सुदीप थापाले सम्पूर्ण सहयात्री तथा सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका थिए।

असोज २२, २०८३ बिहीबार ११:४५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।