मुस्ताङको लेतेदेखि कोरलासम्म रोकिए ५ सय बढी कन्टेनर
मुस्ताङ : अविरल वर्षापछिको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध हुँदा मुस्ताङको लेतेदेखि कोरला नाकासम्म करिब ५ सय मालवाहक कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिएका छन्।
गत असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन्।
भारी वर्षाले म्याग्दी खण्डका पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ। हाल सडक मर्मतको काम जारी रहे पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै कम्तीमा एक साता लाग्ने सडक आयोजनाका प्राविधिकहरूले बताएका छन्।
सडक ठप्प भएपछि जोमसोमस्थित बसपार्कमा मात्रै ७० भन्दा बढी कन्टेनर र सयभन्दा बढी आयातित विद्युतीय सवारीसाधन थन्किएका छन्। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्ड मर्मत गरेपछि भन्सार बन्दरगाहमा अड्किएका केही कन्टेनर जोमसोमसम्म भने ल्याइएको छ।
कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम-कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका ती केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो।
यसअघि बाढी पहिरोबाट नाका क्षेत्रमा विद्युत् र इन्टरनेटको समस्याका कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयौंको सङ्ख्यामा ती कन्टेनर रोकिएका थिए।
भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोल क्षतिमा हुँदा एक सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध थियो। त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो।
कोरला नाकामै रोकिएका कन्टेनर चालक गोबिन्द गुरुङले कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० बढी विद्युतीय सवारी साधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएको बताए।
चाडपर्व लक्षित मालवस्तु समयमै नेपाली बजारसम्म पुग्न नसक्दा एकातिर व्यापारीहरू मर्कामा परेका छन् भने अर्कोतिर उपभोक्ताहरू पनि मारमा परेका छन्। सडक र भन्सार ठप्प हुँदा सीमावर्ती व्यापार र बजारको आर्थिक गतिविधि नै प्रभावित बनेको छ।
असोज २१, २०८३ बुधबार १३:४७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।