तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ महिनाका लागि ३० अर्ब रुपैयाँ उठाउँदै

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ महिनाका लागि ३० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको तरलता (निक्षेप) व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १ महिनाका लागि बोलकबोल प्रक्रियाबाट उक्त रकम उठाउन लागेको हो।

यसका लागि राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव आह्वान गरेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार अपराह्न ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल पेस गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार घटीमा १० करोड र बढीमा १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ।

राष्ट्र बैंकले उठाएको यस रकमको साँवा तथा ब्याज कात्तिक १८ गते भुक्तानी गर्नेछ। वित्तीय प्रणालीमा अत्यधिक तरलता भएपछि ब्याजदर नियन्त्रण र सन्तुलन कायम राख्न राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरणमार्फत रकम खिच्दै आएको छ। राष्ट्र बैंकले यसअघि पनि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ७ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

 

असोज २१, २०८३ बुधबार १२:२३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।