तत्काल संन्यास नलिने रोनाल्डोको घोषणा, टोलीको क्याम्प छाडेकोमा मागे माफी
एजेन्सी : पोर्चुगलका कप्तान तथा भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल संन्यास लिने सम्भावनालाई खारेज गरेका छन्।
मुख्य प्रशिक्षक जर्ज जिसससँगको विवादपछि नेसन्स लिगको खेलअघि टोलीको प्रशिक्षण क्याम्प छाडेर हिँडेका ४१ वर्षीय स्टारले सहकर्मी खेलाडीहरूसँग माफी माग्दै भविष्यमा बिदाइ खेल खेल्ने प्रतिबद्धता जनाएका हुन्।
गत साता डेनमार्कविरुद्धको खेलअघि रोनाल्डोले अचानक पोर्चुगलको टोली छाडेका थिए। सामाजिक सञ्जालमा एक लामो वक्तव्य जारी गर्दै रोनाल्डोले प्रशिक्षक जिससले ‘आफूलाई दिएको वचन तोडेका कारण’ यस्तो अप्रिय निर्णय लिनुपरेको प्रस्टीकरण दिएका छन्।
वेल्सविरुद्ध १-० को जित निकाल्दा ६७औं मिनेटमा मैदानबाट निकालिएका रोनाल्डो नर्वेविरुद्धको खेलमा भने बेन्चमै सीमित भएका थिए। रोनाल्डोका अनुसार प्रशिक्षकले उनलाई नर्वेविरुद्ध अन्तिम ३० मिनेट मैदानमा उतार्ने बचन दिएका थिए, तर त्यो पूरा गरेनन्।
‘सहकर्मीसँग माफी चाहन्छु, कारबाही भोग्न तयार छु’
रोनाल्डोले आफ्नो २५ वर्षे खेल जीवनमा कहिल्यै कुनै प्रशिक्षकको रणनीतिक निर्णयमा हस्तक्षेप नगरेको दाबी गरे। “मलाई जे गर्न भनिन्छ, म स्वीकार गर्छु। तर जब कसैले मलाई दिएको वचन तोड्छ, मलाई लाग्छ मेरो स्थान त्यहाँ छैन,” उनले वक्तव्यमा भनेका छन्।
यद्यपि, बीचमै टोली छाडेर हिँड्नु आफ्नो गल्ती भएको उनले स्वीकार गरेका छन्। उनले लेखेका छन्, “क्याम्प छाडेर हिँडेकोमा म टोलीका सहकर्मीहरूसँग माफी माग्दछु। प्रशिक्षकप्रति विश्वास टुटेको भए पनि मैले त्यसो गर्नु हुँदैनथ्यो। यसको सम्पूर्ण जिम्मेवारी मेरै हो।” आफूमाथि हुन सक्ने जुनसुकै अनुशासनको कारबाही वा निलम्बन भोग्न तयार रहेको पनि उनले प्रस्ट पारेका छन्।
अन्तर्राष्ट्रिय फुटबलमा बिदाइ खेल खेल्ने बाचा
संन्यासको हल्लाबारे रोनाल्डोले आफ्ना समर्थक र पोर्चुगाली जनतालाई सम्बोधन गर्दै भनेका छन्, “म आफ्ना सबै समर्थकहरूलाई वाचा गर्दछु कि हामी एक वा एकभन्दा बढी बिदाइ खेल खेल्नेछौँ, त्यसका लागि समय आउनेछ।”
उनले अगाडि भनेका छन्, “म क्लबबाट गोल गर्दै शारीरिक रूपमा फिट रहेँ भने र कारबाहीको अवधि सकिएपछि राष्ट्रिय टोलीबाट फेरि खेल्न र जित्न सधैँ तयार रहनेछु।”
रोनाल्डोको कीर्तिमान र पोर्चुगलको अवस्था
रोनाल्डो २३४ अन्तर्राष्ट्रिय खेलमा १४६ गोल गर्दै पुरुष अन्तर्राष्ट्रिय फुटबलकै सर्वाधिक गोलकर्ता हुन्। उनी ६ वटा विश्वकप खेल्ने विश्वकै दुई खेलाडीमध्ये एक पनि हुन्।
तर, तथ्याङ्क अनुसार सन् २०२५ यता रोनाल्डो नखेलेका खेलमा पोर्चुगलले ८० प्रतिशत जित निकालेको छ भने उनी टोलीमा हुँदा जितको प्रतिशत ५९ मात्र छ। यद्यपि, प्रशिक्षक जिससले रोनाल्डोका लागि राष्ट्रिय टोलीको ढोका अझै बन्द नभएको संकेत गरेका छन्। पोर्चुगल यसअघि नै नेसन्स लिगको अर्को चरणमा प्रवेश गरिसकेको छ।
असोज २१, २०८३ बुधबार ११:२०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।