तातोपानी नाका खुलाउन नेपाल तयार, चीनको ‘ग्रिन सिग्नल’ पर्खिँदै सरकार

तातोपानी नाका खुलाउन नेपाल तयार, चीनको ‘ग्रिन सिग्नल’ पर्खिँदै सरकार

काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका पुनः सञ्चालनका लागि सरकारले चीनसँग निरन्तर छलफल गरिरहेको बताएका छन्।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयास  गरिरहेको जानकारी दिए। 

मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको बाटो पनि सञ्चालनमा ल्याइसकिएको जानकारी दिए। तर यसका लागि चिनियाँ पक्ष भने तयार नदेखिएको पनि उनले बताए।   

“अहिले पनि हामी तयार नै छौँ। हाम्रा लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन। चिनियाँ पक्षसँग पनि हामी नियमित संवादमा रहेका छौँ। रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा हामी लागिरहेका छौँ,” उनले भने।

ठूलो प्राकृतिक विपद् आइलागेकाले अहिले नै यी नाकाहरु सञ्चालनमा ल्याउन समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार निर्माण र पुनःस्थापनाका लागि भने काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिए।

मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसलाई पुनः सञ्चालन गर्ने बारेमा पनि सरकारले योजना बनाइरहेको बताए। उनले त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका काममा सरकार लागिपरेको जानकारी दिए। 

असोज २०, २०८३ मंगलबार १७:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।