मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा आउँदै

मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा आउँदै

काठमाडौं : काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउन निर्माण गरिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। नेपाल विद्युत् प्राधिकरणले ६ किलोमिटर लामो उक्त प्रसारण लाइन चार्ज गरेर सञ्चालनमा ल्याउने अन्तिम तयारी पूरा गरेको छ।

थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको यो खण्ड सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्तिको लागि वैकल्पिक मार्ग तयार हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार आगामी हिउँदयाममा बढ्ने विद्युत् माग व्यवस्थापन, भोल्टेज सुधार र प्रणालीको विश्वसनीयता कायम राख्न असोज ८ गतेको निर्णयानुसार १५ दिनभित्र यो लाइन सञ्चालनमा ल्याउन लागिएको हो। लाइन सञ्चालनका लागि चोभार सबस्टेसनमा दुईवटा वे निर्माण गरिएको छ ।

चोभार सबस्टेसनमा स्थानीय वितरणका लागि ११ केभीका नौवटा फिडर छन् । सबस्टेसन सञ्चालनमा आएपछि कीर्तिपुर, फर्पिङ, पुल्चोक र एकान्तकुनालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ। मुख्यतः त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ। मातातीर्थबाट चोभारसम्मको प्रसारण लाइन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् प्रवाहमा थप विकल्प उपलब्ध हुनेछ।

यसैबीच, चोभारबाट चक्रपथ हुँदै ललितपुरको लगनखेलस्थित पाटन सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ। यसका लागि पाटन सबस्टेसनलाई समेत १३२ केभी स्तरमा स्तरोन्नति गर्ने काम अघि बढाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने लक्ष्यसहित थानकोट–चापागाउँ–भक्तपुर आयोजना आर्थिक वर्ष २०५५/५६ देखि सुरु गरिएको थियो। नेपाल सरकार र प्राधिकरणको लगानीमा अघि बढाइएको आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ।

तर, ललितपुरको खोकना, बुंगमती, हरिसिद्धि र लामाटार क्षेत्रमा स्थानीयको विरोधका कारण प्रसारण लाइनको काम अझै ठप्प छ। चोभारसम्मको लाइन सञ्चालनले अल्पकालीन राहत दिए पनि पूर्ण रिङ संरचना निर्माणमा ललितपुरको अवरोध हटाउनु अझै प्रमुख चुनौती बनेको छ।

असोज २०, २०८३ मंगलबार १२:३८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।