मिलिन्द कुमारको विष्फोटक शतकसँगै अमेरिकाको ऐतिहासिक रन चेज, लिग-२ को शीर्ष स्थानमा
काठमाडौं : अनुभवी ब्याटर मिलिन्द कुमारको कीर्तिमानी शतकप्रेरित अमेरिकाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ।
डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा युएईले दिएको ३३१ रनको विशाल लक्ष्य अमेरिकाले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो।
यो अमेरिकाको एकदिवसीय (ओडीआई) इतिहासकै सबैभन्दा ठूलो सफल रन चेज हो। यसअघि सन् २०२४ मा डालसमै नेपालविरुद्ध २९४ रनको लक्ष्य भेट्टाउनु अमेरिकाको उच्च रन चेज थियो। साथै, यो लिग-२ प्रतियोगिताकै इतिहासको दोस्रो ठूलो रन चेजसमेत बनेको छ।
मिलिन्दको आक्रामक शतक र अटुट साझेदारी
लक्ष्य पछ्याउने क्रममा मिलिन्द कुमारले मात्र ८४ बलमा ५ छक्काको मद्दतले अविजित ११६ रनको विष्फोटक पारी खेले। यो उनको ओडीआई करियरको पाँचौँ शतक हो।
पाँचौँ विकेटका लागि मिलिन्द र शुभम रञ्जाने (५७* रन) बीच भएको अविजित १६० रनको साझेदारीले अमेरिकालाई जितको ढोका खोलेको थियो।
युएईले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३० रनको विशाल योगफल तयार पारेको थियो।
अमेरिकाका लागि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी
यस इनिङ्समा ५ छक्का प्रहार गरेसँगै ३३ वर्षीय मिलिन्द कुमार अमेरिकाका लागि पुरुष ओडीआई क्रिकेटमा सर्वाधिक छक्का हान्ने ब्याटर बनेका छन्। उनले पूर्वकप्तान मोनांक पटेललाई पछि पार्दै यो उपलब्धि हासिल गरे।
अमेरिकाका लागि ओडीआईमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीहरू मिलिन्द कुमार रहेका छन्। उनले ३८ छक्का प्रहार गर्दा मोनांक पटेलले ३४, एरोन जोन्सले ३२, साइतेजा मुक्कामल्लाले २८, स्टिभन टेलरले २७ छक्का प्रहार गरेका छन्।
अमेरिका अंकतालिकाको शीर्ष स्थानमा
यो शानदार जितसँगै अमेरिका लिग-२ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
आगामी वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने २०२७ एकदिवसीय विश्वकप छनोटको दौडमा रहेको अमेरिका यसअघि नै विश्वकप क्वालिफायरमा पुगिसकेको छ।
अब जारी त्रिकोणात्मक शृङ्खलाको बाँकी खेलमध्ये एक खेल जितेमा अमेरिकाले शीर्ष स्थान पक्का गर्नेछ।
अमेरिकाले आफ्नो आगामी खेल बुधबार नामिबियाविरुद्ध खेल्नेछ भने युएईले शुक्रबार नामिबियाको सामना गर्नेछ।
असोज २०, २०८३ मंगलबार १०:०३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।