अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच वार्ता, पुनर्निर्माण र आर्थिक सुधारका लागि १ अर्ब डलरको प्रस्ताव
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डी.सी.मा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
विश्व बैंक अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका मन्त्री वाग्ले र अध्यक्ष बाङ्गाबीच नेपालको आर्थिक पुनरुत्थान, पूर्वाधार निर्माण र नीतिगत सुधारका विषयमा विस्तृत छलफल भएको हो।
भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार तथा बीमा एवं सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे प्रस्ताव राखे।
नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष बाङ्गाले पुनर्निर्माणका लागि विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए। नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उनले भौतिक पूर्वाधारमा लगानी बढाउन र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।
यसैगरी, अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल थाल्ने जानकारी दिए।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
उक्त बैठकमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।
असोज २०, २०८३ मंगलबार ०९:३८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।