अपाचे रेसिङ क्वालिफायर्सको बुटवल चरण सम्पन्न, १६० सिसीतर्फ धीरज बीके बने विजेता

अपाचे रेसिङ क्वालिफायर्सको बुटवल चरण सम्पन्न, १६० सिसीतर्फ धीरज बीके बने विजेता

बुटवल : नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले रुपन्देहीको तिलोत्तमा–५, मणिग्राममा ‘अपाचे रेस एक्सपेरियन्स जिपी रेसिङ क्वालिफायर्स’को बुटवल चरण सम्पन्न गरेको छ।

स्थानीय बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा आयोजित प्रतियोगितामा १६० सिसी वर्गबाट तीन जना फाइनलिस्ट छनोट भएका छन्।

कडा प्रतिस्पर्धाबीच ३४.०७ सेकेन्डको उत्कृष्ट समय निकाल्दै धीरज बि.क. विजेता बनेका छन्।

त्यस्तै, अभिषेक पन्थी (३४.६२ सेकेन्ड) प्रथम उपविजेता र अरिक श्रेष्ठ (३४.८७ सेकेन्ड) द्वितीय उपविजेता बन्न सफल भए। यी तीनै राइडरले ‘एआरई जिपी ग्रान्ड फिनाले’मा बुटवलको प्रतिनिधित्व गर्नेछन्।

युवाहरूको उच्च आकर्षण देखिएको यस प्रतियोगितामा ७६ जना राइडरहरूले भाग लिएका थिए।

रेसअघि सहभागीहरूलाई मद्रास सर्किट विजेता सुजन थापा मगर र चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले ट्र्याक सीप, राइडिङ पोस्चर, कर्नरिङ र ब्रेकिङसम्बन्धी व्यावसायिक प्रशिक्षण दिएका थिए।

ग्रान्ड फिनालेका विजेताहरूले भारतको मद्रास इन्टरनेसनल सर्किटमा ५० भन्दा बढी देशका राइडरहरूसँग हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्। उनीहरूको सम्पूर्ण खर्च जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनी (भारत) ले व्यहोर्ने जनाइएको छ।

असोज १९, २०८३ सोमबार १०:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।