राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने

राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का टकमारी (मिन्टिङ) तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

बजारमा १ रुपैयाँका सिक्काको मौज्दात व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षण सिक्का टकमारी कम्पनीहरूबाट आवेदन मागेको हो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आईसीबी) प्रक्रियामार्फत ‘सिंगल स्टेज, टू इनभेलप’ विधिबाट बोलपत्र आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ। इच्छुक पूर्वयोग्य कम्पनीले काठमाडौंको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टकमारी प्रभागबाट २ नोभेम्बर २०२६ सम्म बोलपत्र कागजात खरिद गर्न सक्नेछन्। त्यसका लागि नेपाली रुपैयाँ २० हजार, १३१ अमेरिकी डलर वा ११५ युरो दस्तुर तोकिएको छ।

राष्ट्र बैंकले अक्टोबर १५ मा दिउँसो १२ बजे बोलपत्र आह्वान गर्ने जनाएको छ। बोलपत्रदाताले नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ। बोलपत्रमा सहभागी कम्पनीले न्यूनतम एक लाख ४८ हजार अमेरिकी डलर वा सो बराबरको बोलपत्र जमानत पेस गर्नुपर्नेछ।

असोज १८, २०८३ आइतबार ११:५०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।