नेपालको आतिथ्यताबाट भुटान क्रिकेट गद्गद, क्यान र पोखरा एभेन्जर्सलाई पठायो धन्यवाद पत्र

नेपालको आतिथ्यताबाट भुटान क्रिकेट गद्गद, क्यान र पोखरा एभेन्जर्सलाई पठायो धन्यवाद पत्र

काठमाडौं : भुटान क्रिकेट काउन्सिल बोर्ड (बिसिसीबी)ले आफ्नो राष्ट्रिय पुरुष टोलीलाई पोखरामा अभ्यास खेलका क्रममा देखाएको उत्कृष्ट आतिथ्यता र सहयोगका लागि नेपालप्रति हार्दिक आभार व्यक्त गरेको छ।

बिसिसीबीले नेपाल क्रिकेट सङ्घ (क्यान), गण्डकी प्रादेशिक क्रिकेट सङ्घ तथा ‘पोखरा एभेन्जर्स’लाई एक औपचारिक पत्र पठाउँदै धन्यवाद ज्ञापन गरेको हो।

मलेसियाको क्वालालम्पुरमा आयोजना हुने ‘आईसिसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्रीय छनोट’को पूर्वतयारीका लागि भुटानी राष्ट्रिय टोलीले सेप्टेम्बर २६ देखि अक्टोबर २ सम्म पोखरामा चारवटा टी-२० अभ्यास खेल खेलेको थियो।

भुटान क्रिकेटका अध्यक्ष थिन्ले वाङचुक दोर्जीद्वारा हस्ताक्षरित पत्रमा महत्त्वपूर्ण समयमा पाएको यस अवसरले भुटानी खेलाडीहरूको खेल कौशल, अनुभव र आत्मविश्वास बढाउन ठूलो मद्दत पुगेको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, ‘हिमशृङ्खलाको सुन्दर पृष्ठभूमिमा अवस्थित मैदानमा खेल्न पाउनु हाम्रो लागि अविस्मरणीय अनुभव रह्यो। उच्च स्तरको प्रतिस्पर्धा, उत्कृष्ट खेल पूर्वाधार र नेपाली पक्षले देखाएको सौहार्दताले हाम्रा खेलाडीलाई गर्वका साथ देशको प्रतिनिधित्व गर्ने हौसला मिलेको छ।’

भुटान क्रिकेटले भ्रमण सम्भव बनाइदिएकोमा क्यान, उत्कृष्ट व्यवस्थापनका लागि गण्डकी क्रिकेट संघ तथा मुख्य प्रायोजन र आतिथ्यताका लागि नेपाल प्रिमियर लिग (एनपीएल) को टोली ‘पोखरा एभेन्जर्स’लाई विशेष धन्यवाद दिएको छ।

यसैगरी, प्रतियोगिता सफल बनाउन अहोरात्र खटिने मैदानकर्मी, म्याच अफिसियल, खेलको प्रत्यक्ष प्रसारण गर्ने टोली तथा मैदानमा उपस्थित भएर भुटानी टोलीलाई समेत समर्थन र हौसला दिने नेपाली दर्शकप्रति आभार प्रकट गरिएको छ।

यस अभ्यास शृङ्खलाले नेपाल र भुटानबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई खेलकुदका माध्यमबाट अझ प्रगाढ बनाएको भुटान क्रिकेटले जनाएको छ।

साथै, आगामी दिनमा नेपाली क्रिकेट टोलीलाई भुटानमा स्वागत गर्न आफूहरू आतुर रहेको भन्दै दुई देशबीच क्रिकेट विकासमा दीर्घकालीन सहकार्यको अपेक्षा समेत गरिएको छ। नेपालको ए टोली आगामी डिसेम्बरमा भुटान जाँदैछ।

असोज १७, २०८३ शनिबार १०:४४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।