ग्लोबल आइएमई बैंकको साधारणसभाबाट १० प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको साधारणसभाबाट १० प्रतिशत लाभांश पारित

काठमाडौं : ग्लोबल आइएमई बैंकको २०औँ वार्षिक साधारण सभाबाट कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

शुक्रबार काठमाडौंमा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ। समीक्षा आर्थिक वर्षमा बैंकले अघिल्लो वर्षको तुलनामा १५.९० प्रतिशतले वृद्धि गरी ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। स्वीकृत बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पुँजी बढेर ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ। ढकालले नियामक निकायका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्ने तथा डिजिटल बैंकिङ प्रणालीमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ। 

असोज १६, २०८३ शुक्रबार २०:११:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।