असोज २४ गते कीर्तिपुरमा गुञ्जिँदै नेपथ्य
काठमाडौं : चर्चित सांगीतिक समूह नेपथ्य’ले आगामी असोज २४ गते कीर्तिपुरमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ। रमाइलो इभेन्ट म्यानेजमेन्टको आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदानमा ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ शीर्षकको कन्सर्ट आयोजना हुन लागेको हो।
आयोजकका अनुसार कार्यक्रम साँझ ६ बजे सुरु हुनेछ। दर्शकहरूका लागि साँझ सवा ४ बजेदेखि प्रवेश खुला गरिनेछ भने दर्शकले कार्यक्रमस्थलको गेट नम्बर १ र २ बाट प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ।
ऐतिहासिक शहर कीर्तिपुरको पहिचान र नेपथ्यको संगीतलाई जोड्ने लक्ष्य राखिएको कार्यक्रममा समूहले लामो समयदेखि श्रोतामाझ लोकप्रिय रहेका आफ्ना चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछ। काठमाडौं उपत्यकामा लामो समयपछि नेपथ्यको खुला सांगीतिक कार्यक्रम हुन लागेको हो।
यसै कार्यक्रमको अवसर पारेर नेपालको पर्यटन, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यसहित ‘गौरबता नेपाल’को औपचारिक सुरुआत गरिने आयोजकले जनाएको छ। ‘डिजिटल गेटवे टु नेपाल’को अवधारणासहित अघि सारिएको यस अभियानले नेपालका सम्भावना र गौरवलाई नयाँ पुस्ता तथा विश्व समुदायमाझ पुर्याउने लक्ष्य लिएको छ।
नेपालयको प्रोडक्सन व्यवस्थापनमा हुन लागेको उक्त कन्सर्टको टाइटल स्पोन्सर ‘एनटर्क’ र ‘इन एसोसिएसन विथ’मा ‘प्रोटोन’ रहेका छन्। कार्यक्रमको आधिकारिक टिकटिङ साझेदारको रूपमा ‘थुप्रै सोलुसन्स’ रहेको छ।
असोज १६, २०८३ शुक्रबार १५:५०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।