बाढीले बाँधमा क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
म्याग्दी : बाँधस्थलमा बाढी पसेर भौतिक संरचनामा क्षति पुगेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको ६ मेगावाट क्षमताको यस आयोजनाको रेलेखर्क फेदीस्थित बाँधस्थलमा गेग्रानसहितको बाढी पसेपछि उत्पादन ठप्प भएको हो।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले बाँधमा क्षति पुर्याएको हो।
रेलेखर्क क्षेत्रमा गएको पहिरोका कारण खोलामा बाढी उर्लिएर बाँधमा ठूलो परिमाणमा गेग्रान थुप्रिएको छ।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्ग (सडक) समेत पहिरोले अवरुद्ध बनाएकाले तत्काल गेग्रान पन्छाएर आयोजना पुनः सञ्चालन गर्न समस्या भइरहेको छ।
उत्पादन ठप्प हुँदा आयोजनालाई दैनिक ठूलो आर्थिक नोक्सानी भइरहेको छ। गत वर्ष मात्रै निर्माण सम्पन्न भएको यस आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो।
यसैबीच, कालीगण्डकीमा आएको बाढी र पहिरोले प्रसारण लाइनको टावर बगाउनुका साथै तार चुँडाएर थप क्षति पुर्याएको आयोजनाले जनाएको छ।
असोज १६, २०८३ शुक्रबार ०८:०४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।