एन्फाको विवादको असर : ३३ वर्षमा पहिलोपटक साफ च्याम्पियनसिप खेल्नबाट वञ्चित भयो नेपाल

एन्फाको विवादको असर : ३३ वर्षमा पहिलोपटक साफ च्याम्पियनसिप खेल्नबाट वञ्चित भयो नेपाल

काठमाडौं : विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रतिबन्ध नहटेपछि नेपाल ३३ वर्षे इतिहासमै पहिलो पटक दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको छ। 

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले दिएको अन्तिम समयसीमा (बुधबार) सम्म पनि निलम्बन फुकुवा हुन नसकेपछि आउँदो नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना हुने १५औँ साफ च्याम्पियनसिप प्रतियोगिताबाट नेपाल बाहिरिएको हो।

फिफाको कारबाहीमा परेको देशले फिफाद्वारा मान्यताप्राप्त कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने प्रावधान रहेकाले नेपालले साफ च्याम्पियनसिप प्रतियोगिता लेख्न नपाउने भएको हो। फिफाले गत असार ११ गते एन्फामाथि कारबाही गरेको थियो।

साफले नेपालको सहभागिताका लागि बुधबारसम्म (नोभेम्बर ३०) अन्तिम ‘डेडलाइन’ दिएको थियो। उक्त अवधिभित्र प्रतिबन्ध फुकुवा भएको भए नेपाल प्रतियोगिताको समूह ‘ए’मा रहने थियो। जसमा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन्। 

समूह ‘बी’मा भारत, पाकिस्तान र मालदिभ्स छ। निलम्बन खुलेको अवस्थामा नेपालले समूह ‘ए’बाट खेल्न पाउँथ्यो। ३३ वर्षको अवधिमा नेपालले १४ वटा साफ खेलिसकेको छ। जसमा एक पटक उपविजेता, तेस्रो एक पटक र ५ पटक सेमिफाइनल खेलेको थियो।

फिफाले एन्फामाथि हस्तक्षेप गरेको भन्दै कारबाही गरेपछि एन्फा प्रतिबन्धनमा परेको थियो। २०८२ चैत्र ११ गते ३ महिनाको लागि एन्फालाई राखेपले प्रतिबन्ध लगाएको थियो। तर २०८३ जेठ २ गते राखेपलाई एन्फाले नि:शर्त फुकुवा गरेको थियो। पछि असार १० गते फिफाले एन्फालाई प्रतिबन्ध गरेपछि नेपाल अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने भएको थियो। सोही असर साफमा पनि देखिएको हो।

यता एन्फा पदाधिकारीले एन्फा विधानमै नभएको अर्ली इलेक्सन गर्न खोजेपछि एन्फालाई राष्ट्रिय खेलकुद परिसरले एन्फालाई कुनै पनि गतिविधि नगर्न भन्दै भनेको थियो।

तर असोज १ गते एन्फा महासचिव किरण राईले एन्फालाई सरकारले काम गर्न दिनुपर्ने भन्दै पत्रकार सम्मेलन गरेपछि भोलिपल्टै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एन्फा मुख्यालय, सातदोबाटोमा छापा मारेर आवश्यक महत्त्वपूर्ण कागजात, ल्यापटप र सीपीयूहरू नियन्त्रणमा लिएको थियो। 

यसै प्रकरणको अनुसन्धानका क्रममा सीआईबीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ भने केही पदाधिकारी सम्पर्कविहीन भएका छन्। यता, सरकार र एन्फाको जुहारी चलि रहेकाले उता नेपाल भने पहिलो पटक साप च्याम्पियनसिपबाट बाहिरिएको हो।

असोज १५, २०८३ बिहीबार १९:३६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।