सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए, चिनियाँ पर्यटक दोब्बरले बढे
काठमाडौं : सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्यामा १२.१ प्रतिशतले वृद्धि भएको छ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्क अनुसार यस महिना कुल ८८ हजार २४८ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्।
गत वर्ष (सन् २०२५) को सेप्टेम्बर महिनामा ७८ हजार ७११ जना पर्यटक नेपाल भित्रिएका थिए।
नेपाल आउने पर्यटकमा सधैँ झैँ भारतीय नागरिककै वर्चस्व रहेको छ।
कुल आगमनको १९.७५ प्रतिशत हिस्सासहित १७ हजार ४२५ जना भारतीय पर्यटक नेपाल आएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सेप्टेम्बरमा १५ हजार ५५६ भारतीय आएका थिए।
यस महिना छिमेकी मुलुक चीनबाट आउने पर्यटकको सङ्ख्यामा भने उल्लेखनीय वृद्धि देखिएको छ।
अघिल्लो वर्ष ५ हजार २३७ जना चिनियाँ पर्यटक आएकामा यस वर्ष ११४.१ प्रतिशतले बढेर ११ हजार २१२ पुगेका छन्। चीन कुल आगमनको १२.७१ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा रहेको छ।
तेस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकाबाट ८ हजार २९९ जना (९.४० प्रतिशत) पर्यटक नेपाल आएका छन्। यद्यपि, अमेरिकी पर्यटकको आगमन गत वर्षको तुलनामा १४.३ प्रतिशतले घटेको छ।
चौथो स्थानमा रहेको श्रीलङ्काबाट ५४ प्रतिशतको वृद्धिसहित ७ हजार १०८ जना र पाँचौँ स्थानमा रहेको अस्ट्रेलियाबाट ४ हजार ८४२ जना पर्यटक नेपाल भित्रिएका छन्।
यस महिना भारतबाट १७ हजार ४२५ , चीनबाट ११ हजार २१२, अमेरिकाबाट ८ हजार २९९, श्रीलङ्काबाट ७ हजार १०८, अस्ट्रेलियाबाट ४ हजार ८४२, बङ्गलादेशबाट ३ हजार ९६४, बेलायतबाट ३ हजार ७२५, जापानबाट २ हजार ६६, जर्मनीबाट १ हजार ९७४ र इजरायलबाट १ हजा ९५७ पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत आधारमा दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट सबैभन्दा बढी ३४.०९ प्रतिशत (३० हजार ८५ जना) पर्यटक आएका छन्, जुन अघिल्लो वर्षभन्दा २३.९ प्रतिशतले बढी हो। चिनियाँ पर्यटकको वृद्धिसँगै गैर-सार्क एसियाली मुलुकहरूबाट हुने आगमनमा ५८ प्रतिशतको उच्च वृद्धि भई १९ हजार ८८८ पुगेको छ।
यता लामो दूरीका पश्चिमा मुलुकहरूबाट भने पर्यटक आगमनमा गिरावट आएको छ। युरोपेली मुलुकहरूबाट आउने पर्यटकमा ८.७ प्रतिशतले कमी आई १५ हजार १४८ मा सीमित भएको छ।
त्यस्तै, अमेरिकी महादेशबाट १२.३ प्रतिशत र अस्ट्रेलिया तथा न्युजिल्यान्ड (ओसियाना क्षेत्र) बाट २५.९ प्रतिशतले पर्यटक आगमन घटेको बोर्डको तथ्याङ्कमा उल्लेख छ।
असोज १५, २०८३ बिहीबार १३:०८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।