शरद ऋतु : ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

शरद ऋतु : ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं : शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो।

अनुमति लिनेमा ७१ समूह रहेको र जसमा ४८५ पुरुष र १६३ महिला रहेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिए।

अनुमति लिनेमा अष्ट्रेलियाका १७, क्यानडाका १६, जापानका २१, भारतका १८, अमेरिकाका ४१, बेलायतका ३८, स्पेनका १५, स्वीजरल्याण्डका १३, रसियाका ५७, पोल्याण्डका १९, नेपालका २०, चीनका ११८ आरोही रहेका छन्। 

यस्तै, जर्मनीका ३४, फ्रान्सका ५१, बेल्जियमका सात, बुल्गेरियाका पाँच, चेक रिपब्लिकका १६ र अर्जेन्टिनाका सात जना रहेको विभागले जनाएको छ। यस्तै, अन्य देशका आरोहीले पनि अनुमति लिएका छन्।

आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २३ करोड ८९ लाख ६४ हजार २९८ रोयल्टी सङ्कलन गरेको छ। मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ।

विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना, बरुणत्से हिमालका लागि एक टोलीका १० जनाले आरोहण अनुमति लिएका छन्।

यस्तै, मकालु, गङ्गापूर्णा पश्चिम (लाङ्चेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात् २३ करोड ८९ लाख ६४ हजार २९८ नेपाली आम्दानी गरेको छ। 

असोज १५, २०८३ बिहीबार १२:१२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।