शुभमन गिलको दोहोरो शतक, भारतद्वारा ४०६ रनको कीर्तिमानी लक्ष्य ३९ बलअगावै पूरा
एजेन्सी : कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजमाथि ८ विकेटको सनसनीपूर्ण जित हात पारेको छ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०६ रनको विशाल लक्ष्य भारतले ३९ बल बाँकी छँदै मात्र ४३.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। जितसँगै तीन खेलको शृङ्खलामा भारतले अग्रता लिएको छ।
विशाल लक्ष्य पछ्याउने क्रममा कप्तान गिलले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै अविजित २२३ रनको ऐतिहासिक इनिङ्स खेले। यो पुरुष एकदिवसीय क्रिकेट इतिहासकै तेस्रो उच्च व्यक्तिगत स्कोरसमेत हो।
उनले मात्र ६२ बलमा शतक पूरा गरेका थिए भने त्यसपछिको ५५ बलमै दोहोरो शतक (कुल ११७ बलमा २०० रन) प्रहार गरे। गिलले आफ्नो विष्फोटक इनिङ्समा २६ चौका र ८ छक्का प्रहार गरे।
गिलले पूर्वकप्तान रोहित शर्मासँग मिलेर पहिलो विकेटका लागि २५५ रनको विशाल साझेदारी गर्दै भारतको जितको आधार तय गरेका थिए। उत्कृष्ट लयमा देखिएका रोहितले पनि १०१ रनको शतकीय योगदान दिए।
रोहित एलबीडब्लू धरापमा परे भने त्यसपछि आएका विराट कोहली २९ रन बनाएर आउट भए। त्यसपछि क्रिजमा आएका ऋतुराज गायकवाडले गिललाई बलियो साथ दिँदै टोलीलाई सहजै जिततर्फ डोर्याए।
वेस्ट इन्डिजको इतिहासकै ठूलो योगफल
यसअघि गुवाहाटीमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ४०५ रन बनाएको थियो। यो एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजको इतिहासकै उच्च योगफल हो।
वेस्ट इन्डिजका तीन खेलाडीले एकै इनिङ्समा शतक प्रहार गरे। एकदिवसीय क्रिकेट इतिहासमा एकै टोलीका तीन खेलाडीले शतक बनाएको यो केवल छैटौँ पटक हो।
टोलीका लागि अमिर जाङ्गुले सर्वाधिक ११४, साइ होपले १०४ र जोन क्याम्पबेलले १०१ रनको शतकीय योगदान दिएका थिए। दोस्रो विकेटका लागि क्याम्पबेल र होपबीच ११० रन तथा तेस्रो विकेटका लागि होप र जाङ्गुबीच १८२ रनको साझेदारी भएको थियो।
भारतीय बलिङ कमजोर, खेलाडी घाइते
भारतका लागि बलिङतर्फ आजको दिन बिर्सनलायक रह्यो। तीव्र गतिका बलर प्रसिद्ध कृष्ण र नमन धिर खेल दौरान घाइते हुन पुगे। डेब्यू खेल खेलेका तीव्र गतिका बलर आकिब नबीले ८४ रन खर्चे, जुन भारतका लागि एकदिवसीय डेब्यूमा कुनै पनि बलरले दिएको चौथो खराब महँगो बलिङ हो।
आर्थिक मन्दीका कारण खेलाडीहरूको तलबमा २५ प्रतिशत कटौती भएको खबर सार्वजनिक भएको एक साता नबित्दै र आगामी विश्वकपमा सोझै छनोट हुन नसकी सन् २०२७ मा छनोट चरण खेल्नुपर्ने दबाबबीच मैदान उत्रिएको वेस्ट इन्डिजले ऐतिहासिक ब्याटिङ गरे पनि गिलको तुफानी इनिङ्ससामु जित निकाल्न भने असफल रह्यो।
असोज १५, २०८३ बिहीबार ०७:२७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।