बीपीसी एसीसीए इन्डोर क्रिकेट लिगको उपाधि ‘सिड च्यालेन्जर्स’लाई
काठमाडौं : द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) द्वारा आयोजित "एसीसीए प्रेजेन्ट्स: बीपीसी क्रिकेट लिग २०२६ (इन्डोर)" को उपाधि ‘सिड च्यालेन्जर्स’ले जितेको छ।
बुढानिलकण्ठस्थित रोयल स्पोर्ट्स पार्कमा चार दिनसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धापछि विजेता बनेको सिड च्यालेन्जर्सले ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो।
प्रतियोगितामा ‘सीसीए आरसीबी’ प्रथम उपविजेता बन्दै ५३ हजार ३३३ रुपैयाँ र ‘सीसीए गोर्खाज’ द्वितीय उपविजेता बन्दै २६ हजार ६६६ रुपैयाँ हात पारे। बीपीसी नाइट्स तृतीय उपविजेता बन्यो।
व्यक्तिगत विधातर्फ सीसीए आरसीबीका दिवास सिलवाल दोहोरो उपाधि जित्दै ‘प्लेयर अफ द टुर्नामेन्ट’ (रु. २० हजार) र ‘उत्कृष्ट ब्याट्सम्यान’ (रु. १३,३३३) घोषित भए। त्यस्तै, सिड च्यालेन्जर्सका अनन्त गौतम ‘उत्कृष्ट बलर’ बन्दै १३ हजार ३३३ रुपैयाँ प्राप्त गरे।
सेप्टेम्बर २३ देखि २६ सम्म चलेको यस प्रतियोगितामा एसीसीएका विद्यार्थी, सदस्य तथा स्वीकृत लर्निङ पार्टनरहरूका १६ वटा टोलीले सहभागिता जनाएका थिए।
कक्षाकोठा र कार्यस्थलबाहिर आपसी सहकार्य, नेटवर्किङ र खेलभावना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको मुख्य प्रायोजक (टाइटल स्पोन्सर) एसीसीए रहेको थियो।
असोज १४, २०८३ बुधबार २२:११:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।