नेपाल विद्युत प्राधिकरणले भारतलाई ८६ मेगावाट बिजुली बेच्ने, सम्झौता गर्न एमडीलाई अख्तियारी
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले वर्षायाममा आन्तरिक खपत गरी बढी भएको करिब ८६ मेगावाट (८५.६ मेगावाट) बिजुली भारतलाई बिक्री गर्ने भएको छ।
प्राधिकरण सञ्चालक समितिले भारतीय विद्युत व्यापार कम्पनी ‘टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेड’मार्फत भारतको पावर एक्सचेन्ज बजारमा उक्त बिजुली बिक्री गर्न विद्युत खरिद/बिक्री सम्झौता (पीपीए) को मस्यौदा स्वीकृत गरेको हो।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्म वर्षायामको जगेडा बिजुली भारतमा बिक्री गरिनेछ।
दुई पक्षको आपसी सहमतिमा भविष्यमा यो क्षमता थप गर्न सकिने व्यवस्थासमेत सम्झौतामा गरिएको छ। कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठको सिफारिसबमोजिम सञ्चालक समितिले यो निर्णय गरेको हो।
यसअघि गत असार २५ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत नियमन आयोगको परामर्श लिएर मात्र सम्झौता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
सोहीअनुसार नियमन आयोगले भदौ २ गते बिजुली बिक्रीका लागि सहमति प्रदान गरेको थियो।
आयोगबाट भदौ ८ मा पत्र प्राप्त भएपछि प्राधिकरण सञ्चालक समितिले असोज ३ गते औपचारिक रूपमा बिजुली बिक्री गर्ने निर्णय गर्दै सम्झौताको मस्यौदा पारित गरेको हो।
सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिजुली बिक्री गर्ने निर्णयलाई अनुमोदन गर्दै सम्झौतापत्रमा प्राधिकरणको तर्फबाट हस्ताक्षर गर्ने अख्तियारी कार्यकारी निर्देशक श्रेष्ठलाई दिएका छन्।
असोज १४, २०८३ बुधबार २१:२९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।