यसै वर्ष दुई सय टेलिफोन टावर र १ हजार ५९७ स्थानमा फोरजी विस्तार गरिने
काठमाडौं : सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न यसै वर्ष दुई सय नयाँ टेलिफोन टावर निर्माण तथा एक हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए।
नेपाल टेलिकमका नयाँ दुई सय टावर निर्माणको बोलपत्र मूल्याङ्कन भइरहेको र फोरजी सेवाका उपकरण खरिदका लागि यसै साता बोलपत्र आह्वान गरिने उनले बताए।
विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित नहोस् भनेर टावरहरूको पावर ब्याकअप क्षमता बढाउने काम भइरहेको उनले बताए। पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप फेरिएको जानकारी दिँदै उनले ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने बताए।
हाल करिब ५ सय ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गर्ने लक्ष्य रहेको उनले बताए। थप २ सय ब्याट्री खरिदका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ।
त्यस्तै, ३२ वटा सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने काम अघि बढेको उनले जानकारी दिए। राष्ट्रिय प्रसारण प्रणाली नपुगेका क्षेत्रमा रहेका सोलार साइटमा ब्याट्री तथा उपकरण चोरी र टावरमा भौतिक क्षति हुने गरेको भन्दै मन्त्री तिमिल्सिनाले त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गरिने बताए।
यस्तै, भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको सञ्चार प्रणालीमा आठ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए। बाढीबाट रसुवा, नुवाकोट र धादिङका अवरुद्ध ८३ साइटमध्ये अधिकांश पुन: सञ्चालनमा ल्याइएको छ भने क्षतिग्रस्त ३७.९ किमी फाइबरमध्ये २७.४ किमी मर्मत भइसकेकोनले बताए।
टिमुरेमा हेलिकप्टरबाट सोलार पुर्याएर सेवा सञ्चालन गरिएको र रसुवागढी क्षेत्रमा फाइबरको साटो माइक्रोवेभ प्रविधिबाट सेवा पुनःस्थापना गरिएको उनले बताए।
असोज १४, २०८३ बुधबार १६:३२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।