यामल चम्किँदा नेसन्स लिगमा विश्व विजेता स्पेनको शानदार जित, क्रोएसिया ४-१ ले पराजित
एजेन्सी : युवा स्टार लामिन यामलले दुई गोल गर्नुका साथै एक असिस्ट गरेपछि यूईएफए नेसन्स लिगमा विश्व विजेता स्पेनले क्रोएसियामाथि ४-१ को शानदार जित दर्ता गरेको छ।
गर्मीयाममा ठूलो प्रतियोगिता जितेपछिको आफ्नो पहिलो घरेलु खेलमा स्पेनले सानदार प्रदर्शन गरेको हो।
खेल सुरु हुनुअघि एस्टाडियो रामोन सान्चेज पिजुवान स्टेडियममा मिडफिल्डर रोड्रीले ट्रफी प्रदर्शन गरेका थिए। स्पेनका लागि यामलबाहेक मार्क पुबिल र निको विलियम्सले पनि गोल गरे।
इङ्ल्यान्डविरुद्धको नेसन्स लिगको पहिलो खेलमा जस्तै यामलले यस खेलमा पनि सुरुवातमै गोलको खाता खोले। खेलको दोस्रो मिनेटमै एलेक्स बाएनाको पासलाई यामलले स्पेनलाई अग्रता दिलाएका थिए।
त्यसपछि स्पेनले अग्रता दोब्बर बनाउन दबाब बढाए पनि ३०औं मिनेटको आसपासमा क्रोएसियाले खेललाई बराबरीमा ल्यायो। इभान पेरिसिचको सटिक क्रसमा डिओन बेल्जोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई १-१ को स्थितिमा ल्याए।
तर, क्रोएसियाको खुसी तीन मिनेट पनि टिकेन। यामलले प्रहार गरेको सर्ट कर्नरलाई सदुपयोग गर्दै अन्त्यमा उनकै क्रसमा अनमार्क रहेका मार्क पुबिलले हेडरमार्फत गोल गरी स्पेनलाई फेरि २-१ को अग्रता दिलाए।
पहिलो हाफमै मिकेल ओयारजाबलको गोल अफसाइड घोषित भएको थियो भने फर्मिन लोपेजको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
दोस्रो हाफमा पनि स्पेनले आक्रामक खेल जारी राख्यो। ६३औं मिनेटमा पेड्रीको सानदार पासमा यामलले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-१ को मजबुत अवस्थामा पुर्याए। खेलको ८९औँ मिनेटमा निको विलियम्सले क्लिनिकल फिनिसिङ गर्दै स्पेनको ४-१ को सहज जित सुनिश्चित गरे।
क्लब र राष्ट्रिय टिमका लागि अपरिहार्य बन्दै यामल
यामलको प्रभावका कारण सन् २००४ यता पहिलोपटक स्पेनले लगातार दुई खेलको पहिलो दुई मिनेटभित्रै गोल गर्ने कीर्तिमान बनाएको छ।
१७ वर्षीय यामलको यो अर्को उत्कृष्ट प्रदर्शन थियो। दुई गोल र एक असिस्टबाहेक उनले टोलीका लागि सर्वाधिक अवसर सिर्जना गरे, फाइनल थर्डमा सर्वाधिक २४ पास खेले, सर्वाधिक ९ पटक ड्रिबल गरे र आफ्ना दुवै ट्याकल पनि जिते।
गोल खाए पनि खेलमा पूर्ण रूपमा प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीको दबदबा थियो। स्पेनले क्रोएसियालाई मात्र ५ प्रहारमा सीमित राखेको थियो।
यो जितसँगै स्पेन सबै प्रतियोगितामा गरी पछिल्ला ४० खेलमा अपराजित (३१ जित, ९ बराबरी) रहेको छ। यो कुनै पनि युरोपेली राष्ट्रको उत्कृष्ट रेकर्ड हो।
त्यस्तै, स्पेनले लगातार आफ्ना ९ खेल जितेको छ, जसले प्रशिक्षक डे ला फुएन्टेको उत्कृष्ट विजयी लयलाई बराबरी गरेको छ। दुई खेलबाट ६ अंक जोडेको स्पेन नेसन्स लिगको समूह ‘ए-३‘ मा बलियो नियन्त्रणका साथ शीर्ष स्थानमा छ।
असोज १४, २०८३ बुधबार १०:०१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।