६६० मेगावाट बिजुली अझै प्रणाली बाहिर, हिउँदमा भारतबाट किनेर लोडसेडिङ टार्ने दाबी

६६० मेगावाट बिजुली अझै प्रणाली बाहिर, हिउँदमा भारतबाट किनेर लोडसेडिङ टार्ने दाबी

काठमाडौं : हालैको अविरल वर्षा र बाढी-पहिरोका कारण देशका विभिन्न जलविद्युत् आयोजना, प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुग्दा देशभर गरी कुल १ हजार २९२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।

नेपाल विद्युत् प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण अवरुद्ध भएका अधिकांश ठूला आयोजनाहरू पुनः सञ्चालनमा आइसकेको र आउने क्रममा रहेको जानकारी दिए।

साथै, प्रसारण टावरहरूमा पुगेको ठूलो क्षतिका बाबजुद आगामी हिउँदमा पर्याप्त बिजुली आयात गरेर लोडसेडिङ हुन नदिने कार्ययोजनासमेत प्राधिकरणले सार्वजनिक गरेको छ।

कालीगण्डकी ‘ए’ आजै सञ्चालन हुने
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार असोज ९ गतेदेखिको वर्षाका कारण सुरक्षाका दृष्टिले ‘फोर्स सटडाउन’ गरिएका आयोजनाहरू पानीको बहाव घट्नासाथ धमाधम सञ्चालनमा आएका छन्।

मर्स्याङ्दी करिडोरअन्तर्गत बन्द रहेका १९० मेगावाटका आयोजना (मध्य मर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र तल्लो मर्स्याङ्दी) तथा सेती/मादी करिडोरका २६२ मेगावाटका आयोजनाहरू पुनः सञ्चालनमा आइसकेका छन्।

देशकै ठूलोमध्येको एक १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको प्राविधिक परीक्षण सकिएको र आज बेलुकासम्म उत्पादन सुरु हुनेछ।

म्याग्दीस्थित राहुघाटको टेलरेस गेट र डक्टमा क्षति पुगेको तथा टर्बाइन फ्लोरमा बाढीको पानी पसेकाले सफाइ गरी उत्पादन थाल्न करिब १० दिन लाग्नेछ। यद्यपि, त्यहाँको स्विचयार्ड सुरक्षित रहेको छ।

प्रसारण टावर ढल्दा पश्चिमबाट ६६० मेगावाट अझै प्रणालीबाहिर
आयोजनाहरू चल्न सक्ने अवस्थामा भए पनि बाढी-पहिरोले प्रसारणलाइनका टावरहरू ढाल्दा २३० मेगावाट बिजुली अझै राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन।

कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत म्याग्दीको दाना-कुस्मा खण्डका टावर नम्बर २१ र २२ पहिरोले ढालेको छ।

सडक अवरुद्ध भएकाले प्राविधिक टोलीलाई विस्तृत निरीक्षण गर्न कठिनाइ भइरहेको छ। यो प्रसारणलाइन अवरुद्ध हुँदा नीलगिरि-१ (३८ मेवा), नीलगिरि-२ (७१ मेवा), मिस्त्रीखोला (४२ मेवा) सहित ७ वटा आयोजनाको १९० मेगावाट बिजुली रोकिएको छ।

उता, गत भदौ १० गतेको बाढीले माथिल्लो त्रिशूली ३ ‘बी’ २२० केभी हब तथा प्रसारणलाइनमा पुर्याएको क्षतिका कारण रसुवा-त्रिशूली करिडोरका ४३०.८ मेगावाट (रसुवागढी, सान्जेन, त्रिशूली ३ ‘ए’ लगायत १२ आयोजना) अझै बन्द छन्।

यस क्षेत्रमा प्राधिकरण र उसका सहायक कम्पनीहरूको मात्रै करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

अधिकांश जिल्लामा बिजुली फर्कियो, मनाङमा भोलि बल्ने
वर्षा रोकिनासाथ वितरण केन्द्र र ग्रिड सञ्चालन महाशाखाको टोली खटिएर अधिकांश जिल्लामा विद्युत् आपूर्ति पुनःसञ्चालन गरिसकेको प्राधिकरणले जनाएको छ।

म्याग्दी, बागलुङ, तनहुँ (झापुटार सबस्टेसन) र रुकुम पूर्वमा बिजुली सुचारु भइसकेको छ भने आज साँझसम्म मुस्ताङ, प्युठान र रोल्पामा सञ्चालन हुनेछ भने मनाङमा भोलिसम्म विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको दाबी छ।

हाल पिक समयको माग धान्न प्राधिकरणले भारतसँगका विभिन्न १३२ केभी सीमा बिन्दुहरू (सम्पतिया, रामनगर, रक्सौल र टनकपुर) बाट २५१.४ मेगावाट आकस्मिक विद्युत् आयात गरिरहेको छ।

११ सय ५४ मेगावाट आयात गरी लोडसेडिङ टारिने
पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक श्रेष्ठले चालु आर्थिक वर्ष २०८३/८४ को सुख्खायाम (पुस २०८३ देखि वैशाख २०८४ सम्म) को विद्युत् माग-आपूर्ति व्यवस्थापन योजना पेस गर्दै नागरिक र उद्योगहरूले लोडसेडिङ भोग्नु नपर्ने स्पष्ट पारे।

आगामी मंसिरसम्ममा थप ३२०.६ मेगावाट थपिएर नेपालको कुल जडित क्षमता ४ हजार ६० मेगावाट पुग्नेछ। तर, हिउँदमा नदीमा पानी घट्दा आन्तरिक उत्पादन क्षमताको ३० प्रतिशत अर्थात् १ हजार २१८ मेगावाटमा खुम्चिनेछ।

उक्त अभाव पूर्ति गर्न भारतबाट कुल १ हजार १५४.८० मेगावाट विद्युत् आयात गर्ने योजना प्राधिकरणले बनाएको छ।

ढल्केबर-मुजफ्फरपुर आईईएक्समार्फत ६००.८ मेगावाट, बिहार-उत्तर प्रदेश सीमा बिन्दुहरूबाट ३५० मेगावाट, द्विपक्षीय आरटीसी सम्झौतामार्फत १५० मेगावाट र टनकपुर-महेन्द्रनगर लाइनबाट ५४ मेगावाट आयात गरिनेछ।

यसरी सुख्खायाममा नेपालको कुल विद्युत् उपलब्धता २ हजार ३७२ मेगावाट पुग्नेछ। गत वर्षको उच्चतम राष्ट्रिय माग २ हजार २९२ मेगावाट रहेकाले मागभन्दा आपूर्ति बढी हुने र हिउँदमा लोडसेडिङको कुनै सम्भावना नरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए।

असोज १२, २०८३ सोमबार १७:२०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।