वर्षाले खेल रद्द भएपछि भारत र पाकिस्तान एसियन गेम्सको सेमिफाइनलमा, भोलि नेपाल र श्रीलंका भिड्दै
काठमाडौं : लगातारको वर्षाका कारण एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटका दुई क्वार्टरफाइनल खेलहरू टससमेत हुन नपाई रद्द भएका छन्।
खेल रद्द भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० वरीयतामा माथिल्लो रहेका आधारमा भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन्।
जापानको निसिनस्थित मैदानमा भारी वर्षा र ओसिलो आउटफिल्डका कारण सोमबारका दुवै खेल सम्भव हुन सकेनन्।
पहिलो क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ तथा दोस्रो खेलमा भारत र अफगानिस्तान आमनेसामने हुने तालिका थियो। तर, दिनभर परेको झरीका कारण मैदान ढाकिएपछि टस नै हुन सकेन।
प्रतियोगिताको नियमानुसार खेल रद्द हुँदा उच्च वरीयता प्राप्त टोली स्वतः अघिल्लो चरण पुग्ने प्रावधानका कारण भारत र पाकिस्तानले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
यससँगै अफगानिस्तान लगातार दोस्रोपटक एसियाली खेलकुदमा वर्षाका कारण भारतसँग अभागी साबित भएको छ।
सन् २०२३ को हाङझाउ एसियाडको फाइनलमा पनि वर्षा बाधक बन्दा उच्च वरीयताकै आधारमा भारतले स्वर्ण र अफगानिस्तानले रजत पदकमा चित्त बुझाउनुपरेको थियो।
भोलि नेपाल र श्रीलंका भिड्दै, वर्षा भए नेपाललाई घाटा
प्रतियोगिताअन्तर्गत मंगलबार बाँकी दुई क्वार्टरफाइनल खेलहरू हुनेछन्। पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्नेछ भने अर्को खेलमा बंगलादेश र मलेसिया प्रतिस्पर्धा गर्नेछन्।
नेपालका लागि भोलिको खेलमा मौसमको समेत ठूलो चुनौती हुनेछ। प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलङ्का सिधै क्वार्टरफाइनलमा वरीयता प्राप्त टोलीका रूपमा प्रवेश गरेका हुन्।
यदि मंगलबार नेपाल र श्रीलंकाबीचको खेल पनि वर्षाका कारण रद्द भएमा उच्च वरीयताको फाइदा उठाउँदै श्रीलंका सिधै सेमिफाइनल पुग्नेछ भने नेपाल बाहिरिनेछ।
बिहीबार हुने दोस्रो सेमिफाइनलमा भारतले नेपाल र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ। त्यस्तै पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेश र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
असोज १२, २०८३ सोमबार १२:५५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।