३५ प्रतिशत विद्युत् प्रणालीबाट आउट, उद्योगहरूमा ‘लोडसेडिङ’
काठमाडौं : अविरल वर्षापछिको भीषण बाढी र पहिरोले देशको जलविद्युत् क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको कुल क्षमतामध्ये एकतिहाइ बिजुली प्रणालीबाहिर पुगेको छ।
पछिल्लो दुई दिनमा पश्चिम नेपाल (गण्डकी र लुम्बिनी क्षेत्र) का करिब एक हजार मेगावाट र गत भदौ १० गतेको बाढीका कारण त्रिशूली-रसुवा करिडोरबाट अवरुद्ध ४३१ मेगावाट गरी अहिले झण्डै १ हजार ४५० मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ।
बिजुली उत्पादनमा ठूलो गिरावट आएपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक करिडोरहरूमा विद्युत् कटौती सुरू गरेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।
ढकालका अनुसार बाढीका कारण जलविद्युत् आयोजनामा दुई प्रकारका समस्या देखिएका छन्। पहिलो, बाढी र बालुवाका कारण मेसिन जोगाउन गरिएका ‘फोर्स सटडाउन’ र दोस्रो, प्रसारणलाइनका टावरहरू नै पहिरोले ढालेका कारण अनिश्चितकालका लागि बन्द भएका आयोजनाहरू।
‘फोर्स सटडाउन’ भएका आयोजनाहरू पानीको सतह घटेपछि तुरुन्तै सञ्चालनमा आउनेछन् भने बाँकी आयोजना सञ्चालनका लागि केही समय लाग्ने उनले उकेरालाई बताए। उनका अनुसार अहिले देशभरको विद्युत् उत्पादन क्षमता ४१ सय मेगावाट हो।
कालीगण्डकी करिडोरको ३५८ मेगावाट अनिश्चित, टावर ढल्दा १२ आयोजना बन्द
पहिरोले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मा खण्डका टावरहरू ढालेपछि यस क्षेत्रका १२ वटा आयोजनाबाट उत्पादित ३५८.२ मेगावाट बिजुली पूर्ण रूपमा ठप्प भएको छ।
यसबाट ३८ मेगावाटको नीलगिरि-१, ७१ मेगावाटको नीलगिरि-२, ४२ मेगावाटको मिस्त्रीखोला, १४.८ मेगावाटको घारखोला, १३.६ मेगावाटको थापा खोला, ६ मेगावाटको रेले खोला, ५ मेगावाटको घलेम्दी, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको राहुघाट मङ्गले, २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, २१.३ मेगावाटको ठूलो खोला र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो।
प्रवक्ता ढकालका अनुसार म्याग्दी-पर्वत खण्डमा बाटो नै बगाएका कारण प्राविधिक टोली पुग्न समेत कठिन भएको छ।
‘टावर ढलेको ठाउँमा सडक पहुँच नै छैन। बाटो खुलेर क्षतिको यकिन विवरण आएपछि पुनर्निर्माण नसकिँदासम्म यी आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा आउन सक्दैन’, ढकालले उकेरासँग भने।
माथिल्लो राहुघाट, राहुघाट मङ्गले, नीलगिरि-१ र २ लगायतका आयोजनाका भौतिक संरचना सुरक्षित भए पनि प्रसारणलाइन नहुँदा उत्पादन रोक्नुपरेको छ।
राहुघाटको स्विचयार्ड जोगियो, उत्पादन भने रोकियो
गत असोज ७ गते मात्रै परीक्षणका रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनामा बाढीले आंशिक क्षति पुर्याएको छ।
आयोजनाको टेलरेस गेट (पानी फर्काउने सुरुङको गेट) मा क्षति पुगे पनि मुख्य स्विचयार्ड र ट्रान्सफर्मरहरू भने सुरक्षित रहेका छन्।
आयोजनास्थलमा कार्यरत इन्जिनियर सन्जित साहले आफ्नो फेसबुकमा राखेको भिडियोका अनुसार टेलरेसको कङ्क्रिट संरचनाले बाढीको धारलाई अगाडितर्फ मोडिदिएकाले स्विचयार्ड, बसबार र मुख्य ट्रान्सफर्मरहरू जोगिएका छन्। तर, मुख्य प्रसारणलाइनमै क्षति पुगेकाले राहुघाटको परीक्षण उत्पादनसमेत रोकिएको छ।
६०० मेगावाट ‘फोर्स सटडाउन’, जलसतह घटेपछि सञ्चालन हुने
प्रसारणलाइन भत्किएर रोकिएका बाहेक बाढी र पानी पस्ने जोखिमका कारण प्राधिकरणले झण्डै ६०० मेगावाट क्षमताका आयोजनाहरू ‘फोर्स सटडाउन’ गरेको छ।
जसमा प्राधिकरणकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ सहित पोखरा क्षेत्रका अपर मादी, सिक्लेस, नामर्जुङ, सेती नदी, करुवासेती र मोदी क्षेत्रका गरी कुल ४०६ मेगावाट छन्। त्यस्तै, मर्स्याङ्दी करिडोरअन्तर्गतका मध्य मर्स्याङ्दी, तल्लो मर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दीबाट कुल १८९ मेगावाट उत्पादन स्थगित गरिएको छ।
आइतबार बिहानदेखि मौसममा सुधार आएको र नदीहरूमा जलसतह घट्न थालेकाले यी आयोजनाहरू भने सुरुङको हिलो सफा गरेर र पावरहाउस परीक्षण गरी केही घण्टामै पुनः सञ्चालनमा आउने प्रवक्ता ढकालले जानकारी दिए।
त्रिशूली-रसुवा करिडोर : २० टावर ढलेकाले फागुनसम्मै बिजुली आउन कठिन
कालीगण्डकीको पछिल्लो संकटसँगै विगत एक महिनादेखि थलिएको रसुवा-त्रिशूली करिडोरको अवस्था अझै भयावह छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली-चिलिमे २२० केभी र त्रिशूली ३ ‘बी’ हबसँग सम्बन्धित प्रसारणलाइनका करिब २० वटा टावरहरू ढालेको थियो। जसका कारण ४३१.१ मेगावाट विद्युत् अझै प्रणालीबाहिर छ।
त्यसबेलादेखि नै १११ मेगावाटको रसुवागढी, ६० मेगावाटको त्रिशूली ३ ‘ए’, ७८ मेगावाटको सालासुङ्गी (सान्जेन), ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २५ मेगावाटको सौर्य प्लान्टसहित ११ वटा जलविद्युत् आयोजना पूर्ण ठप्प छन्।
यसमा पनि साञ्जेन लगायतका १६० मेगावाट जलविद्युत् आयोजना पूर्ण रूपमा ठिक भए पनि प्रसारण लाइनकै कारण शहरी उपभोक्तासमक्ष पुर्याउन सकिएको छैन। प्रवक्ता ढकालका अनुसार त्रिशूली करिडोरमा प्रसारणलाइन पुनर्निर्माण गर्न कम्तीमा ३ देखि ४ महिना लाग्नेछ।
‘भौगोलिक विकटता र बाटोघाटो नभएका कारण सामान ढुवानीमै समस्या छ,’ उनले भने, ‘छिटोमा पनि आउँदो माघ-फागुन अगाडि रसुवा करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा फर्काउन कठिन छ।’
त्रिशूलो करिडोरको ४३१ मध्ये १६० मेगावाट सञ्चालन गर्न सकिने अवस्था भए पनि प्रसारण लाइनकै कारण आइसोलेट तरिकाले सञ्चालन गरेर स्थानीय गाउँमा मात्र बिजुली पुर्याइको छ। यसरी हेर्दा प्रसारण लाइनकै कारण ५१८ मेगावाट बिजुली अहिले राष्ट्रिय प्रसारण लाइनबाट बाहिर छ।
औद्योगिक क्षेत्रमा ३०० मेगावाट बिजुली कटौती, मधेशमा ७८ पोल ढले
एकैपटक ठूलो मात्रामा बिजुली उत्पादन घटेपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरेको छ। आइतबार बिहान ६ बजेदेखि अमलेखगन्ज, परवानीपुर, वीरगन्ज, सुनवल र बुटवल औद्योगिक करिडोरमा करिब ३०० मेगावाट विद्युत् आपूर्ति कटौती गरिएको छ।
प्रवक्ता ढकालले वर्षाका कारण हाल गार्हस्थ्य माग घटेर प्रणालीको माग दुई हजार मेगावाटभन्दा तल झरेकाले लोड व्यवस्थापन गर्न सकिएको बताए।
‘अहिले पिक आवरको माग २ हजार २०० देखि २ हजार ३०० मेगावाटसम्म हुने भए पनि पानी पर्दा माग घटेको छ,’ उनले भने, ‘उद्योगहरूलाई पूर्ण बन्द नगरिए पनि पिक आवरमा मेसिनको लोड घटाउन भनिएको छ। पूर्ण रूपमा बिजुली काटेका छैनौं। पहिले २० मेगावाट दिनेलाई अहिले १० मेगावाट मात्र दिइएको छ। यद्यपि मर्स्याङ्दी र मादी करिडोरका आयोजना चल्नासाथ औद्योगिक क्षेत्रको आपूर्ति सहज हुनेछ।’
उता, तराई-मधेश क्षेत्रमा पनि बाढीले वितरण प्रणालीमा क्षति पुर्याएको छ। प्राधिकरणको मधेश प्रादेशिक कार्यालयका अनुसार बाढीका कारण उच्च र न्यून चापका ७८ वटा पोलहरू ढलेका छन् भने १४ वटा वितरण ट्रान्सफर्मरमा क्षति पुगेको छ।
तीनवटा सबस्टेसनमा पानी पसेपछि निरन्तर पम्पिङ गरेर विद्युत् आपूर्ति नियमित राख्ने प्रयास भइरहेको छ।
हिउँदमा लोडसेडिङको कालो बादल
सामान्य अवस्थामा नेपालको कुल जडित क्षमता करिब ४ हजार १ सय मेगावाट पुगिसकेको छ।
तर, बाढीका कारण प्रसारणलाइन ध्वस्त भएर त्रिशूली करिडोरको ४३१ मेगावाट र कालीगण्डकी करिडोरको ३५८ मेगावाट गरी झण्डै ८०० मेगावाट बिजुली तत्काल राष्ट्रिय प्रणालीमा ल्याउन नसकिने अवस्था सिर्जना भएको छ।
नदीमा पानी घट्दै जाने आगामी सुख्खायाम (हिउँद) मा नदी प्रवाहमा आधारित आयोजनाहरूको उत्पादन स्वतः एक तिहाइमा झर्छ।
यस्तो अवस्थामा ठूला प्रसारणलाइन समयमै बन्न नसके आगामी हिउँदमा देशले पुनः गम्भीर विद्युत् संकट र लोडसेडिङको सामना गर्नुपर्ने जोखिम बढेको छ।
असोज १२, २०८३ सोमबार १०:३४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।