कालीगण्डकीको जलसतह घट्यो, १४४ मेगावाटको ‘कालीगण्डकी ए’ आजै सञ्चालनमा आउने

कालीगण्डकीको जलसतह घट्यो, १४४ मेगावाटको ‘कालीगण्डकी ए’ आजै सञ्चालनमा आउने

वालिङ : कालीगण्डकी नदीमा पानीको बहाव घट्न थालेसँगै १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजैदेखि विद्युत् उत्पादन पुनः सुरु गरिने भएको छ।

चार दिनदेखिको अविरल वर्षाका कारण नदी उर्लिएपछि कालीगण्डकी गाउँपालिका-५ बेल्टारीस्थित आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द गरिएको थियो।

प्राविधिक टोलीले बाढीपछिको अवस्था निरीक्षण गरिसकेकाले आज बिहान १० बजेदेखि उत्पादन सुरु गर्ने तयारी गरिएको केन्द्र प्रमुख आत्मेस पौडेलले जानकारी दिए।

‘नदीमा पानीको उच्च बहावका कारण हुन सक्ने जोखिम रोक्न उत्पादन बन्द गरेका हौँ,’ प्रमुख पौडेलले भने, ‘अहिले जलसतह घट्दै गएकाले सुरुङभित्रको हिलो सफा गर्ने र पावरहाउसको अवस्था जाँच गरी विद्युत् उत्पादन पुनः सञ्चालन गर्न लागेका छौँ।’

यसअघि बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर नदीमा पानी छाडिएको थियो।

यसैबीच, लगातारको वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजार डुबानमा परेको छ। डुबानमा परेका २६ घरपरिवारलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको छ।

त्यस्तै, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत आइतबार बिहान कालीगण्डकीको बाढीले बगाएको छ।

असोज १२, २०८३ सोमबार ०९:२१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।