नेपाल र जापानको खेल रद्द, समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा
काठमाडौं : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आयोजक जापानविरुद्धको खेल वर्षाका कारण रद्द भए पनि नेपाल समूह ‘ए’ को विजेता बन्दै नकआउट (क्वार्टरफाइनल) चरणमा प्रवेश गरेको छ।
जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा दुवै टोलीले १-१ अंक बाँडेपछि नेपाल ३ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै अघिल्लो चरण पुग्न सफल भएको हो।
वर्षाले प्रभावित भएपछि १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएर १४९ रनको बलियो योगफल तयार पारेको थियो।
तर, नेपालको इनिङ्स सकिएलगत्तै फेरि भारी वर्षा सुरु भएपछि जापानले जवाफी ब्याटिङ गर्ने अवसर नै पाएन। वर्षा नरोकिएपछि खेललाई ‘नो रिजल्ट’ (रद्द) घोषणा गरिएको थियो।
यसअघि नेपालका लागि मध्यक्रमका ब्याटरद्वय सन्दीप जोरा र लोकेश बमले विष्फोटक अर्धशतकीय इनिङ्स खेलेका थिए।
पाँचौं विकेटका लागि अविजित ६५ रनको साझेदारी गर्ने क्रममा सन्दीपले ३२ बलमा ५७ रन तथा लोकेशले मात्र २२ बलमा ५२ रन बनाएका थिए। बलिङतर्फ जापानका रेओ साकुराओ-थोमस, जेक कुसुडा, डेक्लान सुजुकी र इब्राहिम ताकाहासीले १-१ विकेट लिएका थिए।
यस नतिजासँगै नेपाल समूह ‘ए’ मा २ खेलबाट १ जित र १ खेल रद्द हुँदै ३ अंकसहित समूह विजेता बन्यो। पहिलो खेलमा बलियो टोली अफगानिस्तानलाई हराएको नेपालले जापानसँग अंक बाँड्दै शीर्ष स्थान सुरक्षित गरेको हो।
यस समूहबाट २ खेलमा २ अंक जोडेको अफगानिस्तान समूह उपविजेता बन्यो भने २ खेलबाट १ अंक मात्र जोडेको आयोजक जापान प्रतियोगिताबाट बाहिरिएको छ। अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ भने अफगानिस्तानले भारतको सामना गर्नेछ।
असोज १०, २०८३ शनिबार ०८:४१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।