सन्दीप र लोकेशको विष्फोटक अर्धशतक, नेपालद्वारा जापानलाई १५० रनको लक्ष्य
काठमाडौं : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले आयोजक जापानलाई जितका लागि १५० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रनको योगफल खडा गर्यो।
नेपालका लागि मध्यक्रमका ब्याटरद्वय सन्दीप जोरा र लोकेश बमले आक्रामक ब्याटिङ गर्दै उत्कृष्ट अर्धशतक प्रहार गरे। पाँचौं विकेटका लागि यी दुईबीच अविजित ६५ रनको विष्फोटक साझेदारी भयो।
लोकेश बमले मात्र २२ बलमा ६ छक्का र १ चौकाको मद्दतले ५२ रन बनाए। यस्तै, जिम्मेवारीपूर्वक इनिङ्स सम्हालेका सन्दीप जोराले ३२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए। नेपालले अन्तिम ५ ओभरमा बिनाकुनै क्षति ६५ रन जोडेको थियो।
यसअघि नेपालको सुरुआत भने निकै दबाबपूर्ण रहेको थियो। ओपनर कुशल भुर्तेल व्यक्तिगत ४ रनमै आउट भएपछि धर्मराएको नेपाललाई अर्का ओपनर आसिफ शेखले १५ बलमा २१ रन जोड्दै केही गति दिएका थिए।
तर, कुशल मल्ल (२) र गुलशन झा (२) सस्तैमा पेभेलियन फर्किएपछि १०औँ ओभरमा नेपाल ८४/४ को कमजोर अवस्थामा पुगेको थियो। त्यसपछि आएका लोकेश र सन्दीपले इनिङ्सलाई आक्रामक दिशा दिए।
जापानका बलरहरूमध्ये रेओ साकुराओ-थोमसले कसिलो बलिङ गर्दै २ ओभरमा मात्र ७ रन खर्चेर १ विकेट लिए। यस्तै, जेक कुसुडा–नायर्न, डेक्लान सुजुकी र इब्राहिम ताकाहासीले समान १-१ विकेट हात पारे।
जापानले केही बेरमा १५० रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।
यसअघि नेपालले हिजो अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो।
असोज १०, २०८३ शनिबार ०८:०६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।