म्यानचेस्टर सिटी वित्तीय नियम उल्लंघनमा दोषी ठहर, क्लबहरूद्वारा क्षतिपूर्ति माग्ने तयारी
एजेन्सी : प्रिमियर लिगको बहुचर्चित ‘११५ आरोप’ सम्बन्धी मुद्दामा स्वतन्त्र अनुसन्धान प्यानलले म्यानचेस्टर सिटीलाई अधिकांश वित्तीय नियम उल्लंघनमा दोषी ठहर गरेको छ।
यो फैसलासँगै प्रिमियर लिगका अन्य प्रतिस्पर्धी क्लबहरूले सिटीविरुद्ध कानुनी बाटोबाट आर्थिक क्षतिपूर्ति दाबी गर्ने तयारी थालेका छन्।
‘द एथलेटिक’का अनुसार सिटीविरुद्ध लगाइएका ११५ मध्ये ११४ वटा आरोप पुष्टि भएका छन्। यद्यपि, क्लबले आफू निर्दोष रहेको दाबी गर्दै यस फैसलाविरुद्ध तत्काल पुनरावेदन (अपील) गर्ने जनाएको छ।
रेलिगेसनदेखि निष्कासनसम्मको जोखिम
आरोपहरू गम्भीर प्रकृतिका ठहरिएकाले सिटीमाथि ठूलो अंक कटौती, भारी जरिवाना, प्रिमियर लिगबाट घटुवा वा लिगबाटै निष्कासनसम्मको कडा कारबाही हुन सक्ने आकलन गरिएको छ।
सजाय निर्धारण सम्बन्धी सुनुवाइ केही महिनापछि मात्र हुने बताइएको छ। पुनरावेदन प्रक्रिया लम्बिन सक्ने भएकाले यो मुद्दाको अनिश्चितता तत्काल नसकिने देखिन्छ। सिटी दोषी ठहरिएसँगै अन्य क्लबहरूले लिगमार्फत वा व्यक्तिगत रूपमा क्षतिपूर्ति मुद्दा दायर गर्न कानुनी परामर्श सुरु गरेका छन्।
यसअघि एभर्टनले वित्तीय नियम उल्लंघन गर्दा रेलिगेसनमा परेको बर्नलीलाई ३ करोड ५० लाख पाउन्ड क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको थियो। सोही नजिरलाई आधार बनाउँदै विगतमा सिटीका कारण उपाधि, युरोपियन छनोट वा रेलिगेसनको मार खेपेका क्लबहरूले क्षतिपूर्ति माग गर्ने सम्भावना बढेको हो।
विवादको पृष्ठभूमि र ११५ आरोपहरू
सन् २००९ देखि २०१८ सम्मको अवधिलाई लिएर सन् २०२३ फेब्रुअरीमा प्रिमियर लिगले चार वर्ष लामो अनुसन्धानपछि सिटीमाथि औपचारिक आरोप लगाएको थियो। सो अवधिमा सिटीले तीन प्रिमियर लिगसहित आठवटा उपाधि जितेको थियो।
सिटीमाथि ५४ पटक यथार्थ वित्तीय विवरण लुकाएको, १४ पटक खेलाडी तथा प्रशिक्षकको भुक्तानी विवरण गोप्य राखेको, ५ पटक युइएफएको ‘वित्तीय फेयर प्ले’ उल्लंघन गरेको, ७ पटक प्रिमियर लिगको ‘नाफा तथा दिगोपना नियम’ उल्लंघन गरेको, ३५ पटक लिगको अनुसन्धानमा असहयोग गरेको आरोप पुष्टि भइसकेको छ।
सिटीले भने सुरुदेखि नै आफूले कुनै गल्ती नगरेको र आफूहरूसँग ‘अखण्ड प्रमाण’ रहेको दाबी गर्दै आएको छ। प्रिमियर लिगले यसबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
असोज १०, २०८३ शनिबार ०७:३५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।