कुशल र ललितको घातक बलिङमा १०२ रनमा समेटियो अफगानिस्तान
काठमाडौं : एसियाली खेलकुदअन्तर्गत पुरुष टी-२० क्रिकेट प्रतियोगितामा स्पिनरद्वय कुशल भुर्तेल र ललित राजवंशीको उत्कृष्ट बलिङको मद्दतले नेपालले अफगानिस्तानलाई न्यून स्कोरमा रोकेको छ।
जापानको निसिनस्थित कोह्रोगी स्पोर्ट्स पार्कमा समूह 'ए' को खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो। जितका लागि अब नेपालले १०३ रनको सहज लक्ष्य पाएको छ।
नेपालका लागि स्पिनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यस्तै, कसिलो बलिङ गरेका अर्का स्पिनर ललित राजवंशीले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट हात पारे।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले खेलको सुरुआतदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। ललित राजवंशीले पहिलो ओभरको अन्तिम बलमै ओपनर हसन इसाखिललाई शून्य रनमा बोल्ड गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए।
त्यसपछि उनले अर्का ओपनर मोहम्मद अक्रमलाई २ रन र अनुभवी ब्याटर करिम जनतलाई ९ रनमा पेभेलियनको बाटो देखाएपछि अफगानिस्तानले १६ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। पावरप्लेको ६ ओभरमा अफगानिस्तानले ३ विकेटको क्षतिमा मात्र १९ रन बनाउन सकेको थियो।
सुरुवाती विपद्पछि टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका फैसल खान अहमदजाई र अनुभवी नजिबुल्लाह जादरानले चौथो विकेटका लागि इनिङ्स सम्हाल्ने प्रयास गरे। दुवैले समान ३०/३० रन बनाए। फैसलले ३३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे भने जादरानले ४० बलमा २ चौका प्रहार गरे।
तर, १३औँ ओभरमा कुशल भुर्तेलले कप्तान दीपेन्द्रसिंह ऐरीमार्फत फैसललाई क्याच आउट गराउँदै यो साझेदारी तोडे। त्यसपछि १५औँ ओभरमा कुशलले लगातार दुई बलमा मोहम्मद इसहाक (७) र कप्तान दरविश रसुली (०) लाई एलबीडब्लू आउट गर्दै अफगानिस्तानलाई थप दबाबमा पारे।
कुशलले नै १९औँ ओभरको अन्तिम बलमा जादरानलाई करण केसीमार्फत क्याच गराए। अन्त्यतिर नाङ्गेयालिया खानले अविजित १७ रन जोडेपछि अफगानिस्तानको स्कोर १०० पार पुगेको थियो।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १८ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चे पनि विकेट लिन सकेनन्। १०३ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै नेपालले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।
असोज ९, २०८३ शुक्रबार १२:१३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।