सन्न्यास लिने सोचमा थिएँ, तर अब १ हजार गोलको लक्ष्य पूरा गर्नुछ : क्रिस्टियानो रोनाल्डो

सन्न्यास लिने सोचमा थिएँ, तर अब १ हजार गोलको लक्ष्य पूरा गर्नुछ : क्रिस्टियानो रोनाल्डो

एजेन्सी : पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिनेबारे गम्भीर सोच बनाएको भए पनि देशलाई थप सफलता दिलाउन र आफ्नो करियरमा ‘१ हजार गोल’ को ऐतिहासिक कोसेढुङ्गा पार गर्न खेललाई निरन्तरता दिएको खुलासा गरेका छन्।

युइएफए नेसन्स लिगमा वेल्सविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोनाल्डोले आफ्नो व्यक्तिगत कीर्तिमान र राष्ट्रिय टोलीको सफलता दुवै आफ्ना लागि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। व्यावसायिक फुटबल करियरमा १ हजार गोलको जादुई आँकडा छुन रोनाल्डोलाई अब केवल २१ गोल आवश्यक छ।

‘एक हजार गोल पूरा गर्नु र राष्ट्रिय टोलीलाई फेरि नेसन्स लिग उपाधि जिताउनु दुवै मेरो मुख्य लक्ष्य हो,’ उनले भने, ‘यी दुवै मेरा लागि बराबर महत्त्वपूर्ण छन्।’

विश्वकपपछि सन्न्यास लिनेबारे सोच्नुभएको थियो? भन्ने सञ्चारकर्मीको प्रश्नमा रोनाल्डोले भने, ‘हो, मैले सोचेको थिएँ। म सधैं आफ्नो भविष्य, वर्तमान र निर्णयहरूबारे विचार गर्छु। तर हाम्रा अध्यक्ष र प्रशिक्षकसँगको कुराकानीपछि म अझै पनि टोलीलाई लक्ष्यमा पुर्याउन मद्दत गर्न सक्छु भन्ने महसुस भयो। म मैदानभित्र गोल गरेर मात्र होइन, मैदान बाहिरबाट पनि टोलीलाई भरथेग गर्न सक्छु।’

पोर्चुगलको राष्ट्रिय टोलीमा भित्रिएका नयाँ तथा प्रतिभावान युवा खेलाडीहरूलाई मार्गदर्शन गर्नु पनि आफ्नो निरन्तरताको मुख्य कारण रहेको उनले बताए।

‘यो युवाहरूको नयाँ पुस्ता हो। तर मेरा लागि मैदानमा उत्रिनु, गोल गर्नु र टोलीलाई जिताउनु नै प्राथमिक विषय हो,’ उनले ठट्टा गर्दै थपे, ‘साना बच्चाहरूले मलाई प्रेरणाको रूपमा हेर्छन्। त्यसैले म उनीहरूका लागि उदाहरण बनिरहन चाहन्छु- सायद म अझै १० वर्षपछि मात्र सन्न्यास लिन्छु होला!’

आफ्नो करियरभरि हुने आलोचनाका विषयमा पाँच पटकका बालोन डी'ओर विजेता रोनाल्डोले कडा टिप्पणी गरे।

‘कतिपय टेलिभिजन च्यानलहरूले मेरो आलोचना गर्न रुचाउँछन्, उनीहरूले मलाई 'सटगन' ले आक्रमण गरेजस्तै गर्छन् तर म त्यसबाट जोगिन सक्छु,’ उनले भने, ‘म विगत २० वर्षदेखि यस्ता कुराको बानी परिसकेको छु। आलोचनाभन्दा पनि मलाई माया गर्ने मानिसहरूको भावना मेरा लागि ठूलो हो।’

पोर्चुगलले लिस्बनस्थित जोसे अल्भालाडे रंगशालामा वेल्सको सामना गर्दै नेसन्स लिगको नयाँ यात्रा सुरु गर्दैछ। टोलीका मुख्य प्रशिक्षक जर्ज जिससले रोनाल्डोलाई ‘पोर्चुगल र राष्ट्रिय टोलीको जीवन्त प्रतीक’ का रूपमा व्याख्या गरेका छन्।

असोज ८, २०८३ बिहीबार ११:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।