आजदेखि फेरियो १ हजारको नोट, अब देखिनेछन् जुम्ल्याहा हात्ती ‘राम-लक्ष्मण’

आजदेखि फेरियो १ हजारको नोट, अब देखिनेछन् जुम्ल्याहा हात्ती ‘राम-लक्ष्मण’

काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ र परिष्कृत सुरक्षा विशेषतासहित ‘सिरिज २०२५’ अन्तर्गतको एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै साविककै आकार तर आकर्षक रङ र अत्याधुनिक सुरक्षा फिचर्ससहितको नयाँ नोट जारी गरिएको जानकारी दिएको छ।

नयाँ नोटको बाहिरी घेरा बैजनी र भित्री भाग फिक्का हरियो रङको रहेको छ।

नयाँ नोटको पछाडिपट्टि (पृष्ठ भागमा) चितवनको सौराहास्थित सरकारी हात्तीसारमा ‘देव कली’ नामको हात्तीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’ को चित्र समावेश गरिएको छ।

यसअघिको नोटमा पनि हात्तीको चित्र भए पनि यसपटक नेपालमै जन्मिएका प्रसिद्ध जुम्ल्याहा हात्तीलाई स्थान दिइएको हो।

यस्तै, नोटको पछाडि नेपालका सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी सातवटा लालीगुराँसका फूलहरू र काठमाडौँको हनुमानढोकास्थित ऐतिहासिक ‘ल्होंचोक’ को खम्बा (Pillar) को आकृति पनि राखिएको छ।

नोटको अगाडिको भागमाको बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँस र ‘1000’ अंकित पानीछाप (वाटरमार्क) रहेको छ। सगरमाथाको दायाँतर्फ अण्डाकारभित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने ‘भगवती’ को चित्र छ।

नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो खण्डमा ‘वि.सं. २०८२’ लेखिएको छ। दृष्टिविहीन व्यक्तिहरूले छोएरै नोट पहिचान गर्न सकुन् भन्नका लागि नोटको दायाँतर्फको तल्लो भागमा रोमन अक्षर ‘M’ र दुवैतर्फ १०/१० वटा तेर्सा रेखाहरू राखिएका छन्।

नोटमा ३.५ मिलिमिटर चौडाइ भएको विशेष सुरक्षा धागो राखिएको छ। यसलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने विशेषता छ। धागोमा ‘NRB’ र ‘1000’ लेखिएको छ। उज्यालो वा प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा ‘1000’ देखिने गरी विशेष डिजाइन गरिएको छ।

यो नयाँ नोट संकेत नं. ट/६२ ०००००१ देखि त/५० ९९९९९९ सम्म निष्कासन हुनेछ। नोटको पछाडिको तल्लो भागमा सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ।

यसअघि २०७७ सालमा जारी गरिएको सिरिज २०१९ को १ हजारको नोटको सिरिज समाप्त भएसँगै राष्ट्र बैंकले नयाँ सुरक्षा र डिजाइनसहित यो नोट बजारमा ल्याएको हो।

असोज ८, २०८३ बिहीबार ०७:३७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।