भारी वर्षाको जोखिमपछि बिदामा पनि स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन
काठमाडौं : देशभर सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता (हाई अलर्ट) मा रहन निर्देशन दिएको छ।
मौसम पूर्वानुमान महाशाखाको सूचना तथा प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार मन्त्रालयले प्रदेशस्थित मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि तयारी अवस्थामा रहन परिपत्र गरेको हो।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्यकर्मीहरूलाई सम्पर्कमा रहन र विपद्को अवस्था आए तत्काल कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएको छ।
यस्तै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सूचना संकलन, समन्वय र प्रतिकार्यलाई प्रभावकारी बनाउन, जोखिमयुक्त जिल्लाहरूमा द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राख्ने तथा सर्पदंशको औषधि (एन्टी-स्नेक भेनम), जीवनजललगायत अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ।
यसका अलावा प्रसूतिको मिति नजिकिएका गर्भवती तथा नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरूलाई सुरक्षित स्थान वा स्वास्थ्य संस्था नजिक रहन र आवश्यक औषधि साथमा राख्न पूर्वसूचना दिन तथा विपद् वा आकस्मिक स्वास्थ्य समस्या परेका नागरिकलाई तत्काल सेवा दिन स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत १०२ नम्बरको एम्बुलेन्स सेवा प्रभावकारी बनाउन समेत मन्त्रालयले निर्देशन दिएको छ।
यसैबीच, स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा सुचारु राख्न आवश्यक जनशक्ति र औषधिको व्यवस्थासहितको कार्ययोजना तत्काल मन्त्रालयमा पेस गर्न निर्देशन दिइएको छ।
असोज ८, २०८३ बिहीबार ०७:०८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।