बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख अमेरिकी डलर दिने

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख अमेरिकी डलर दिने

काठमाडौं : नेपालमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माण र  पुनः स्थापनाका लागि अमेरिकाले थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ।

न्युयोर्कमा आयोजित एक भेटवार्ताका क्रममा अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेश मन्त्री एलिसन हुकरले नेपालका परराष्ट्र मन्त्री शिशिर खनाललाई भेटेर सो सहयोगको घोषणा गरेका हुन्।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार उपविदेश मन्त्री हुकरले प्राकृतिक विपद्‌मा ज्यान गुमाएका तथा बाढीमा बेपत्ता भएका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति सहानुभूति व्यक्त गरेकी छन्।

अमेरिकाले आवश्यकताअनुसार निर्माण गरिने स्थायी पुलका लागि एक करोड डलर उपलब्ध गराउने योजना बनाएको छ। ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने र बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय कनेक्टिभिटी सुधारमा प्रयोग गरिने जनाइएको छ। त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोसम्बन्धी सहयोगका लागि थप ८० लाख डलर उपलब्ध गराउने घोषणा गरिएको छ।

विपद्पछिको पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोनका लागि पनि १ करोड ३० लाख डलर उपलब्ध गराउने अमेरिकी विदेश मन्त्रालयको योजना छ। नयाँ घोषणासँगै नेपालको बाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको छ। अमेरिकाले आवश्यकताका आधारमा सहायता पुर्याउन नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने जनाएको छ।

असोज ७, २०८३ बुधबार १०:४२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।