पौने १० बजेका लागि तोकिएको भारत र जापानबीचको ऐतिहासिक टी-२०मा अझै सुरू भएन

पौने १० बजेका लागि तोकिएको भारत र जापानबीचको ऐतिहासिक टी-२०मा अझै सुरू भएन

काठमाडौं : जापानको ‘सानो क्रिकेट मैदान’मा आयोजना हुन लागेको भारत र जापानबीचको ऐतिहासिक पुरुष टी-२० क्रिकेट खेल मैदान भिजेका कारण अझै सुरु हुन सकेको छैन। नेपाली समय अनुसार मध्याह्न  बजिसक्दा समेत खेलको टस हुन सकेको छैन।

वर्षा रोकिएर आकाश खुल्दै गए पनि मैदानमुनि पानी जमेका कारण अम्पायरहरूले खेल सुरु गर्न अनुमति दिएका छैनन्। खेल खेलाउनका लागि मैदानको अवस्था उपयुक्त छ वा छैन भनी अम्पायरहरूले पटक-पटक निरीक्षण गरिरहेका छन्।

जापानी समय अनुसार दिउँसो ३:१५ बजे अर्थात नेपाली समय अनुसार मध्यान्ह १२ बजे अर्को निरीक्षण गर्ने भनिए पनि मैदान अझै खेल्न योग्य भइसकेको छैन। खेल नेपाली समय अनुसार विहान ९ बजेर ४५ मिनेटमा सुरू हुनुपर्ने थियो।

बत्ती नहुँदा खेल छोटिने जोखिम
सानोस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लडलाइट’को व्यवस्था छैन। त्यहाँ घाम डुब्न करिब तीन घण्टा मात्र बाँकी रहेकाले समयमै खेल सुरु नभए २० ओभरको पूर्ण खेल हुन नसक्ने निश्चित प्रायः छ। ढिलाइ बढ्दै गएमा ओभर घटाएर खेलाउने सम्भावना रहेको छ।

खेल हेर्न मैदानमा करिब ५ देखि ६ हजार जापानी तथा भारतीय क्रिकेट समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ। ऐतिहासिक खेल अनिश्चित बनेपछि मैदानमा प्रतीक्षा गरिरहेका समर्थकहरू केही निराश देखिएका छन्।

यता, खेल सुरु नभएपछि भारतीय टोलीका खेलाडीहरू मैदानमै फुटबल खेलिरहेका छन्। भारतीय टोलीका तीव्र गतिका स्टार बलर जसप्रित बुमराह जापानी खेलाडीहरूसँग मैदानमै कुराकानी र हाँसोमजाक गरिरहेको देखिएको छ।

त्यस्तै, कप्तान श्रेयस अय्यर र मुख्य प्रशिक्षक भीभीएस लक्ष्मणले पिचको अवस्था नियाल्दै प्राविधिकहरूसँग छलफल गरिरहेका छन्।

एसियाली खेलकुदअघिको ऐतिहासिक खेल
एसियाली खेलकुदको पूर्वतयारी तथा भारत र जापानको मैत्री सम्बन्धको ७५ वर्षगाँठको अवसरमा यो खेल आयोजना गरिएको हो।

टी-२० विश्वकपको विजेता भारत र उदाउँदो क्रिकेट राष्ट्र जापानबीच सिनियर पुरुष टोलीस्तरमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुन लागेकाले यसलाई निकै चासोका साथ हेरिएको छ।

खेलमा भारतीय टोलीको कप्तानी श्रेयस अय्यर र जापानको कप्तानी केन्डेल काडोवाकी-फ्लेमिङले सम्हाल्दै छन्।

असोज ६, २०८३ मंगलबार ११:५७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।