भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडभन्दा बढीको क्षति, ७९४ जना अझै बेपत्ता

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडभन्दा बढीको क्षति, ७९४ जना अझै बेपत्ता

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालको पर्यटन क्षेत्रले ठूलो आर्थिक धक्का व्यहोर्नुपरेको छ। 

प्रारम्भिक अध्ययन अनुसार यस विपद्बाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) का संयोजक सहदेव धमलाले यक्षतिसम्बन्धी प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। पर्यटन मन्त्री खड्गराज पौडेल ‘गनेस’ र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थितिमा सार्वजनिक गरिएको उक्त प्रतिवेदन अनुसार बाढी पहिरोले विशेष गरी रसुवा, नुवाकोट, धादिङ र गोरखा क्षेत्रका पर्यटन पूर्वाधार, होटेल, पदमार्ग र यातायात पहुँचमा व्यापक क्षति पुर्याएको छ।

विपद्का कारण होटेल व्यवसायमा १९ अर्ब ५६ करोड चार लाख ४८ हजार रुपैयाँ बराबरको नोक्सानी भएको आकलन गरिएको छ। 

यसैगरी वैदेशिक पर्यटन आम्दानीतर्फ १४ अर्ब ६० करोड २४ लाख ६४ हजार रुपैयाँ र मानवबल तथा पर्यटक व्यवस्थापनतर्फ १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० रुपैयाँको क्षति भएको छ।

भौतिक पूर्वाधार र अन्य व्यवसायतर्फ हेर्दा सम्पदा तथा पर्यटन पूर्वाधारमा १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनमा १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्ट क्षेत्रमा १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रको व्यावसायिक कारोबारमा १ अर्ब २७ करोड ६४ लाख ४० हजार रुपैयाँ  बराबरको क्षति भएको आकलन गरिएको छ।

यसबाहेक आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख रुपैयाँ, राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँ र ट्रेकिङ ट्रेलमा ५ करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

बाढी तथा पहिरोमा १ हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन्। हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली रहेको जनाइएको छ। उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन्।

घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरहरूसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी गराएका हुन्। 

प्रतिवेदनमा विपद्पछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षित तथा दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ।

बोर्डका वरिष्ठ निर्देशक ऐरले रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने अवधारणा अघि सारिएको जानकारी दिए। उनले संकटका समयमा प्रभावकारी समन्वय र शीघ्र प्रतिकार्यका लागि बोर्डमा २४ सै घण्टा सञ्चालन हुने क्राइसिस सेल तथा क्यूआरटीलाई निरन्तरता दिनुपर्ने र त्यसका लागि वार्षिक १ देखि ५ करोड रुपैयाँसम्म बजेट व्यवस्था गर्नुपर्ने सुझाव दिए।

असोज ६, २०८३ मंगलबार १०:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।