चौतर्फी दबाबपछि अध्यक्ष इन्फान्टिनोले भने- ‘स्वतन्त्र बाह्य समीक्षाका लागि तयार छु’

चौतर्फी दबाबपछि अध्यक्ष इन्फान्टिनोले भने- ‘स्वतन्त्र बाह्य समीक्षाका लागि तयार छु’

एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको कार्यशैली र निर्णय प्रक्रियामाथि एक ‘स्वतन्त्र बाह्य समीक्षा’ गर्ने प्रस्ताव गरेका छन्।

आफ्नै विवादास्पद योजनाका कारण तीव्र आलोचना र दबाब खेपिरहेका इन्फान्टिनोले फिफाभित्र आवश्यक सुधार गर्न आफू तयार रहेको बताएका हुन्।

फिफा काउन्सिलका सदस्यहरू तथा विश्वभरका २११ वटै सदस्य राष्ट्रहरूलाई पत्र पठाउँदै उनले फिफाको निर्णय प्रक्रियालाई अझ पारदर्शी, उत्तरदायी र सहभागितामूलक बनाउन सबै पक्षसँग छलफल गरिने जनाएका छन्।

यस प्रक्रियामा स्वयं फिफा अध्यक्षको भूमिकाका विषयमा समेत पुनरावलोकन गरिने उनको भनाइ छ।

इन्फान्टिनोले केही समयअघि ‘फिफा फरवार्ड इन्टरप्राइज’नामक एउटा योजना अघि सारेका थिए। यस योजनाअन्तर्गत विश्वकप लगायत फिफाका प्रमुख प्रतियोगिताहरूको टिकट तथा व्यावसायिक अधिकारको २१ प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बेच्ने प्रस्ताव गरिएको थियो।

यो गोप्य योजना सार्वजनिक भएलगत्तै विश्व फुटबलमा ठूलो तरङ्ग पैदा भयो। युरोपेली फुटबल महासङ्घ (युइएफए) र उत्तर तथा मध्य अमेरिकी महासङ्घ (कन्काकाफ) ले यसको कडा विरोध गरे।

युइएफएले त इन्फान्टिनोविरुद्ध अमेरिकी अदालतमा कानुनी प्रक्रिया सुरू गर्ने तयारी गर्दै यससम्बन्धी सम्पूर्ण कागजात सार्वजनिक गर्न माग गर्यो। साथै, उनीहरूले फिफासँग रहेको सञ्चित कोषबाट सबै २११ सदस्य देशलाई १/१ करोड अमेरिकी डलर बाँड्नुपर्ने दबाब समेत दिए।

चौतर्फी विरोधपछि उक्त निजीकरणको योजना तत्कालका लागि रोकिएको छ। पत्रमार्फत आफ्नो कदमको बचाउ गर्दै इन्फान्टिनोले भनेका छन्, “फिफाको स्वतन्त्रता, लोकतान्त्रिक प्रक्रिया र खेलसम्बन्धी अधिकार कुनै पनि हालतमा बिक्रीमा थिएन र कहिल्यै हुने पनि छैन। संस्थागत निर्णय हुनुअगावै यो कुरा बाहिरिँदा भ्रम र चिन्ता पैदा भयो।”

आगामी अक्टोबर १५ मा फिफा काउन्सिलको बैठक बस्दै छ। विश्लेषकहरूका अनुसार, आफ्नै नेतृत्वविरुद्ध सुरु भएको अभूतपूर्व विद्रोहलाई शान्त पार्न र आफ्नो पद जोगाउन इन्फान्टिनोले रणनीति बदलेका हुन्।

५६ वर्षीय इन्फान्टिनो सन् २०२७ को मार्चमा हुने निर्वाचनमार्फत चौथो पटक फिफा अध्यक्ष बन्ने तयारीमा छन्। तर, उनका विरोधीहरूले अध्यक्षको असीमित शक्ति कटौती गर्नुपर्ने, कार्यकालको सीमा (एक पटक मात्र) तोक्नुपर्ने र फिफा प्रशासनलाई अध्यक्षको प्रभावबाट अलग राख्नुपर्ने माग गरिरहेका छन्।

आगामी निर्वाचनमा टिकिरहनका लागि इन्फान्टिनो आफ्ना विरोधीहरूका यी कडा सर्तहरू मान्न तयार हुन्छन् वा हुँदैनन् भन्ने विषयलाई अहिले चासोका साथ हेरिएको छ।

असोज ६, २०८३ मंगलबार १०:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।