फ्लाई दुबईको उडानलाई दिगो बनाउन पोखराका व्यवसायीको अफरै-अफर, होटल र रेष्टुराँमा भारी छुट
गण्डकी : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी बुधबारदेखि सुरु हुन लागेको फ्लाई दुबईको नियमित उडानलाई लक्षित गर्दै पोखराका पर्यटन व्यवसायीले भारी छुटको घोषणा गरेका छन्।
अन्तरदेशीय उडानलाई दिगो र सफल बनाउन यात्रु तथा पर्यटकका लागि होटल र रेष्टुराँमा २५ प्रतिशतसम्म छुट दिने योजना ल्याइएको हो।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार फ्लाई दुबईबाट आउने यात्रुलाई पहिलो तीन महिनाका लागि पोखराका होटलमा २५ प्रतिशत छुट दिइनेछ।
“बुधबार साँझ पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा पूर्ण रूपमा निःशुल्क गरेका छौँ,” उनले भने, “यस छुट योजनामा अहिलेसम्म ५० वटा पर्यटकस्तरीय र तारे होटल समावेश भइसकेका छन्, यो सङ्ख्या अझै बढ्नेछ।”
उडानलाई दिगो बनाउन व्यवसायीले आफ्नो दायित्व सम्झेर यो अफर ल्याएको उनको भनाइ छ।
यस्तै, रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईको ‘बोर्डिङ पास’ लिएर आउने यात्रुलाई आबद्ध रेष्टुराँहरूमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ। रेवानका अध्यक्ष वसन्त गौतमले यो योजना सुरुमा तीन महिना लागू हुने र पछि आवश्यकताअनुसार लम्ब्याउन सकिने बताए।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले सम्पूर्ण छुट योजनालाई एकीकृत गरी छुट्टै मोबाइल ‘एप’मार्फत सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। पोखरा-दुबई हवाई उडानलाई प्रभावकारी बनाउन पर्यटन परिषद्, नाट्टा गण्डकीलगायतका सङ्घसंस्थाहरू प्रवर्द्धनात्मक अभियानमा सक्रिय छन्।
हरेक दिन साँझ ६:१५ मा अवतरण
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गत जेठ २५ गते अनुमति पाएसँगै फ्लाई दुबईले उडानको सम्पूर्ण तयारी पूरा गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाई दुबईको जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने सोही दिन साँझ ७ः१५ बजे यात्रु लिएर दुबईका लागि प्रस्थान गर्नेछ।
उडानमा १३८ देखि १८९ यात्रु क्षमता भएका बोइङ ७३७ र म्याक्स (MAX 8 / MAX 9) सिरिजका जहाज प्रयोग हुनेछन्। सुरुमा एक महिनाका लागि मात्र दैनिक उडानको घोषणा गरिए पनि एयरलाइन्सले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिसकेको छ।
युरोप र अमेरिका जान एउटै टिकट
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक ‘कोडसेयर’ साझेदारीका कारण पोखराका यात्रुलाई ठूलो फाइदा पुग्नेछ। यसबाट पोखरादेखि दुबई हुँदै अष्ट्रेलिया, युरोप वा अमेरिकाका सहरसम्म जाने यात्रुले एउटै टिकटबाट सहजै यात्रा गर्न सक्नेछन् र ट्रान्जिटमा कुनै झन्झट हुनेछैन।
विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गरिरहेको विश्वव्यापी ट्रान्जिट हब दुबईसँग पोखराको सिधा हवाई सम्पर्क जोडिएपछि यहाँको पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।
असोज ६, २०८३ मंगलबार ०८:००:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।