यती एअरलाइन्स २८ वर्षमा, एक वर्षमै सेवा लिए नौ लाख यात्रुले

यती एअरलाइन्स २८ वर्षमा, एक वर्षमै सेवा लिए नौ लाख यात्रुले

काठमाडौं : निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले आफ्नो व्यावसायिक उडानको २८ वर्ष पूरा गरेको छ। सन् १९९८ बाट उडान सुरु गरेको कम्पनीले पछिल्लो एक वर्षमा मात्रै ९ लाख यात्रुलाई सेवा दिएको जनाएको छ।

विमानस्थल पूर्वाधारको सीमितता, मौसमजन्य अवरोध तथा बजारको चर्को प्रतिस्पर्धाका बीच पनि एक वर्षमा ९ लाख यात्रुलाई गन्तव्यमा पुर्याउन सक्नुलाई कम्पनीले आफ्नो ठूलो व्यावसायिक उपलब्धि र यात्रुको निरन्तर विश्वासका रूपमा लिएको छ।

कम्पनीका अनुसार उडान सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै नियमित प्राविधिक निगरानी, सुरक्षा व्यवस्थापन प्रणाली र चालक दलको तालिममा निरन्तर लगानी गरिँदै आएको छ।

यात्रुको सुविधाका लागि टिकट बुकिङदेखि विमानस्थल र उडानसम्मका सबै सेवामा डिजिटल प्रविधिको प्रयोग बढाइएको यतीले जनाएको छ।

२८ वर्षे यात्राको अनुभवलाई आत्मसात् गर्दै आगामी दिनमा पनि सुरक्षित, भरपर्दो र यात्रुमैत्री सेवा दिँदै पर्यटन र आन्तरिक अर्थतन्त्रमा योगदान पुर्याउने कम्पनीले प्रतिबद्धता जनाएको छ।

असोज ५, २०८३ सोमबार १२:०५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।