ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि आजको सेयर कारोबार स्थगित
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारका लागि नियमित सेयर कारोबार स्थगित गरेको छ।
ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजको कारोबार रोकिएको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य (स्टक ब्रोकर) कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर 'डाटा हब प्रा.लि.' मा आइतबार बिहानदेखि नै प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि लगातार प्रयास भइरहेता पनि हालसम्म पूर्ण रूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत हालको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत गम्भीर क्षति पुग्न सक्ने भन्दै नियमित कारोबार सत्र स्थगन गर्न अनुरोध गरेको थियो।
सोही निवेदन र प्राविधिक जोखिमलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार सोमबार (असोज ५) को नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
असोज ५, २०८३ सोमबार ११:२०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।