जाडोमा विद्युत् माग धेरै हुँदो रहेछ, सहज बनाउन ‘वर्कआउट’ हुँदैछ : ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन मन्त्रालयले ‘वर्कआउट’गरिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले सुक्खायामको चुनौती सामना गर्न प्राविधिक तयारी भइरहेको जानकारी दिए।
‘जाडो महिनामा बिजुलीको माग धेरै हुँदो रहेछ, खासगरी दुई महिनामा यसको चाप बढी हुन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘प्रसारण लाइनबाट केही विद्युत् बाहिर गएकाले असहज हुन्छ कि भन्ने चिन्ता छ। तर, जाडोमा पनि आपूर्ति सन्तुलित राख्न हामीले वर्कआउट गरिरहेका छौँ।’
रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत् पूर्वाधारमा क्षति पुर्याएपछि अहिले राष्ट्रिय प्रणालीबाट करिब १० प्रतिशत विद्युत् बाहिरिएको छ।
बाढीपहिरोका कारण अन्य ठाउँका आयोजना पनि जोखिममा पर्न सक्ने भन्दै उनले त्यसको पूर्वतयारीबारे समेत छलफल भइरहेको खुलाए।
अब प्रणालीमा जोडिने प्रसारण लाइनको अवस्था कस्तो छ र सम्भावित जोखिमलाई कसरी सम्बोधन गर्ने भन्नेमा प्राविधिक टोलीले काम गरिरहेको उनको भनाइ छ।
विपद्पछिको पुनर्स्थापनामा मन्त्रालय र प्राधिकरणले द्रुत गतिमा काम गरिरहेको मन्त्री श्रेष्ठले दाबी गरे।
असोज ५, २०८३ सोमबार ०९:५७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।