पर्यटकलाई सहज दूरसञ्चार सुविधा दिन एनसेल र नाटोबीच साझेदारी
काठमाडौं : नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँचलाई थप सहज र सरल बनाउन एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारी पत्रमा विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर परिवार, साथीभाइ तथा आफन्तहरूसँग निरन्तर सम्पर्कमा रहन सहज बनाउने, एनसेलले पर्यटकहरूलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउने र नाटोले देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकहरूलाई एनसेलका सेवा–सुविधाबारे जानकारी गराउने उल्लेख छ।
दूरसञ्चार सेवा मात्र नभई, एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गहरूमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न समेत सहयोग गर्ने उल्लेख छ।
यसको सुरुवात धादिङ जिल्लाको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिने र यसले राजमार्गमा यात्रा गर्ने पर्यटक र स्थानीय समुदाय दुवैको सुविधाको आवश्यकतालाई सम्बोधन गर्ने उल्लेख छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्गले देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविस्मरणीय बनाउने विश्वास लिएको बताए।
नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले नेपाल आउने हरेक यात्रुलाई आफ्नो यात्राभर सबैसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने एनसेलसँगको यो अर्थपूर्ण सहकार्यले उत्साहित भएको बताए।
असोज ४, २०८३ आइतबार २१:०९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।