गोलमा एम्बाप्पे, उपाधिमा यामाल र तथ्याङ्कमा केन : ब्यालोन डि'ओर कसको पोल्टामा?

गोलमा एम्बाप्पे, उपाधिमा यामाल र तथ्याङ्कमा केन : ब्यालोन डि'ओर कसको पोल्टामा?

एजेन्सी : विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार 'ब्यालोन डि'ओर ०२६'  समारोह हुन अब एक महिनाभन्दा कम समय बाँकी रहँदा मनोनयनमा परेका खेलाडीहरूबीच प्रतिस्पर्धा चर्किएको छ।

विगतका वर्षहरूमा जस्तै यसपटक कुनै एक वा दुई खेलाडीको स्पष्ट दबदबा देखिएको छैन, जसले गर्दा उपाधिको होड निकै खुला र रोमाञ्चक बनेको छ।

यसपटक फ्रान्सेली स्टार किलियन एम्बाप्पे र स्पेनिस युवा सनसनी लामिन यामालले  खुलेरै आफूलाई पुरस्कारको हकदारका रूपमा समेत प्रस्तुत गरेका छन्। अर्कोतर्फ, गोलको संख्या र तथ्याङ्कका आधारमा इङ्ल्यान्डका कप्तान ह्यारी केनको दाबी पनि निकै बलियो देखिएको छ। तर, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको प्रभुत्व रहेको पछिल्लो दशकजस्तो यसपटक स्पष्ट रूपमा एक खेलाडीलाई बलियो दाबेदार मान्ने अवस्था देखिएको छैन।

किलियन एम्बाप्पे : 'मभन्दा उत्कृष्ट प्रदर्शन कसैको थिएन'
रियल मड्रिडका स्टार एम्बाप्पेले फ्रान्स फुटबललाई दिएको अन्तर्वार्तामा आफ्नो तथ्याङ्क र प्रदर्शनले नै सबै कुरा प्रस्ट पार्ने बताएका छन्। उनले भनेका छन्, "मेरो विचारमा मभन्दा उत्कृष्ट प्रदर्शन गर्ने अरू कोही थिएन। ठूला प्रतियोगिताहरूमा गोल गर्नु र विश्वकप जस्तो ठूलो मञ्चमा सर्वाधिक गोलकर्ता बन्नु सामान्य कुरा होइन।"

एमबाप्पेले ला लिगामा २५ गोल गरेका थिए भने च्याम्पियन्स लिगामा थप १५ गोल गरेका थिए। त्यसपछि विश्वकपमा १० गोल गर्दै उनले आफ्नो करिअरको महत्वपूर्ण व्यक्तिगत उपलब्धि हासिल गरेका छन्।

तर, व्यक्तिगत प्रदर्शनका बाबजुद उनको टोलीको सफलताले भने बालोन डी’ओर दाबीलाई केही कमजोर बनाएको छ। रियल मड्रिड ला लिगाको उपाधि दौडमा दोस्रो हाफमा कमजोर बन्यो भने च्याम्पियन्स लिगको यात्रा क्वार्टरफाइनलमा उपाधिबाट विमुख भयो। फ्रान्स पनि विश्वकपमा चौथो स्थानमा सीमित हुन पुग्यो।

त्यसैले एमबाप्पेको गोल संख्या असाधारण भए पनि ती प्रदर्शनले टोलीलाई निर्णायक क्षणमा कति सफलता दिलायो भन्ने प्रश्न उनको दाबीको मुख्य विषय बनेको छ।

लामिन यामाल : ‘यस वर्ष मैले जित्नुपर्छ’
गत वर्ष ब्यालोन डि'ओरमा दोस्रो स्थानमा रहेका बार्सिलोनाका लामिन यामालले यसपटक आफूले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्। ला लिगाको उपाधि र विश्वकप जितेको उपलब्धिलाई आधार बनाउँदै यामालले यस वर्ष आफू बालोन डी’ओरका लागि योग्य रहेको बताएका छन्। उनले आफू र एमबाप्पे विश्वकै उत्कृष्ट दुई खेलाडी भएको दाबीसमेत गरेका छन्।​​​​​​​

स्पेनी स्ट्रिमिङ प्लेटफर्म मोभिस्टारलाई दिएको अन्तर्वार्तामा उनले भने, "मलाई लाग्छ यो वर्ष म र एम्बाप्पे नै विश्वका उत्कृष्ट खेलाडी हौँ। मैले जितेका उपाधिका आधारमा म यसको हकदार छु।"​​​​​​​

यामालले २०२५–२६ सिजनमा ला लिगाका २८ खेलमा १६ गोल र ११ असिस्ट गरेका थिए। तर विश्वकपमा उनको प्रदर्शन भने अपेक्षाअनुसार बलियो हुन सकेन। उनले एक गोल र एक असिस्ट गरेका थिए।

विश्वकपअघि चोटबाट फर्किएका कारण प्रतियोगितामा सहज रूपमा लय समात्न कठिन भएको बताइएको छ। यामाललाई भविष्यमा बालोन डी’ओर जित्ने सम्भावना बोकेका खेलाडीका रूपमा हेरिए पनि यस वर्ष भने उनलाई स्पष्ट दाबेदार मान्न कठिन रहेको विश्लेषण गरिएको छ।

ह्यारी केन: गोलको वर्षा तर टोलीको प्रदर्शनमा प्रश्न
जर्मन क्लब बायर्न म्युनिख र इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केन तथ्याङ्कका हिसाबले सबैभन्दा अगाडि छन्। उनका लागि २०२५-२६ सिजन करिअरकै उत्कृष्ट रह्यो।  उनले गत सिजनमा  ६५ खेलमा कुल ७३ गोल ८ एसिस्ट गरेका छन्। यही कारण धेरैले उनले बालोन डी’ओरका लागि पर्याप्त आधार तयार गरिसकेको मान्छन्।

तर, बायर्न र इंग्ल्यान्डको समग्र प्रदर्शन हेर्दा उनको दाबीमा केही प्रश्न पनि उठेका छन्। केन बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता बने पनि माइकल ओलिसेले बुन्डेसलिगाको 'प्लेयर अफ द मन्थ' अवार्ड जितेका थिए।

त्यसैगरी, विश्वकपमा इङ्ल्यान्डका लागि केनभन्दा जुड बेलिङ्गमको प्रदर्शन बढी प्रभावकारी मानियो, जसका कारण केनको दाबीमा केही शंका उत्पन्न भएको छ।

ब्यालोन डि'ओरको मनोनयन र खेलाडीहरूको प्रत्यक्ष दाबीले यसपटकको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ, तर अन्तिम विजेता को हुनेछ भन्ने विषय अझै अन्योलमै छ।

असोज ४, २०८३ आइतबार १५:४०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।