भारतीय उद्योगीलाई अर्थमन्त्री डा. वाग्लेको आह्वान- ‘नेपालमा लगानी विस्तार गर्ने यो उपयुक्त समय’
नयाँ दिल्ली : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा व्यावसायिक समुदायलाई नेपालमा लगानी र व्यापारका अवसर विस्तार गर्न आह्वान गरेका छन्।
नेपालमा अहिले लगानीमैत्री वातावरण बनेकाले पुँजी भित्र्याउनका लागि यो उपयुक्त समय भएको उनको भनाइ छ।
तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका मन्त्री वाग्लेले शनिबार ‘कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री’ (सीआईआई) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रियालाई सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन्।
नेपाललाई केवल उपभोग्य बजारका रूपमा मात्र नहेर्न आग्रह गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘भारतीय व्यवसायीहरूले नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा जोड्ने रणनीतिक साझेदारका रूपमा हेर्नुपर्छ।’
उनले डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन साझेदारी नेपालको अर्थतन्त्रका प्रमुख सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरे। पहिलेदेखि नै नेपालमा सञ्चालित भारतीय कम्पनीहरूलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्ताहरूलाई बजार पहिचान गर्न उनले आग्रह गरे।
अर्थमन्त्री वाग्लेले नेपाल सरकारले पछिल्लो बजेट, कर सुधार र नीतिगत व्यवस्थामार्फत लगानीका बाधाहरू हटाउँदै लगेको स्पष्ट पारे।
‘सरकार अझ बढी अनुमानयोग्य, पारदर्शी र लगानीमैत्री व्यावसायिक वातावरण निर्माण गर्न प्रतिबद्ध छ’, उनले भने।
अन्तरक्रियामा सहभागी भारतीय व्यावसायिक नेतृत्व तथा सीआईआईका सदस्यहरूले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा लगानी गर्न गहिरो चासो देखाएका थिए। उनीहरूले नेपालको लगानी नीति, कर सुविधा र व्यवसाय सञ्चालनका कानुनी प्रावधानबारे थप जानकारी मागेका थिए।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल-भारत आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा व्यापार र विपत्पछिको पुनर्निर्माणका विषयमा भारतीय उच्च अधिकारी तथा नीतिगत समुदायसँग छलफल गरिरहेको जनाइएको छ।
असोज ३, २०८३ शनिबार १३:५५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।