परीक्षामा च्याटजीपीटी प्रयोग गरेको भेटिएपछि आईआईटी बम्बईका विद्यार्थी मृत फेला, क्याम्पसमा विरोध प्रदर्शन

परीक्षामा च्याटजीपीटी प्रयोग गरेको भेटिएपछि आईआईटी बम्बईका विद्यार्थी  मृत फेला, क्याम्पसमा विरोध प्रदर्शन

एजेन्सी : भारतको इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) बम्बईका दोस्रो वर्षका विद्यार्थीले परीक्षा हलमा मोबाइल प्रयोग गरी 'च्याटजीपीटी' बाट उत्तर खोजेको फेला परेपछि शुक्रबार साँझ पोवईस्थित क्याम्पसको होस्टेल कोठामा उनी मृत फेला परेका छन्।

मृतक विद्यार्थी 'डिपार्टमेन्ट अफ इनर्जी साइन्स एन्ड इन्जिनियरिङ'मा अध्ययनरत साहिल वाकोडे रहेको खुलेको छ।

घटना सार्वजनिक भएपछि संस्थानले एक आधिकारिक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। संस्थानका अनुसार साहिलले परीक्षा हलभित्र मोबाइल फोन प्रयोग गरी प्रश्नपत्र च्याटजीपीटीमा अपलोड गरेर उत्तर खोज्ने प्रयास गरेका थिए। यद्यपि, संस्थानले विद्यार्थीविरुद्ध कुनै पनि किसिमको अनुशासनसम्बन्धी कारबाही सुरु नगरिएको दाबी गरेको छ। परीक्षा निरीक्षक र विभागका प्रमुखले साहिलसँग कुराकानी गरी काउन्सिलिङ गरेको र यस घटनाले उनको शैक्षिक करियर वा भविष्यमा कुनै नकारात्मक असर नपार्ने आश्वासन दिएर होस्टेल पठाएको संस्थानको भनाइ छ। त्यसको केही समयपछि नै उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए।

एक वर्ष निलम्बन गरिएको थियो भन्ने विद्यार्थीको दाबी
यता घटनाको खबर फैलनासाथ पोवई क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले प्रशासनविरुद्ध विरोध प्रदर्शन सुरु गरेका छन्। आन्दोलनरत विद्यार्थीहरूले संस्थानले घटनाको सत्यतथ्य लुकाइरहेको र साहिललाई एक वर्षको लागि निलम्बन गर्ने धम्की दिइएको आरोप लगाएका छन्।

विद्यार्थीहरूका अनुसार निलम्बन भएमा वाकोडेले होस्टेल छाडेर क्याम्पसबाहिर बस्नुपर्ने अवस्था आउन सक्थ्यो। उनीहरूले यस्तो कारबाहीले चार वर्षमा पूरा हुने इन्जिनियरिङ अध्ययन पाँच वर्ष वा त्योभन्दा बढी समयसम्म लम्बिन सक्ने बताएका छन्। सम्भावित कारबाहीको डर र अत्यधिक मानसिक दबाबका कारण साहिलले यस्तो कठोर कदम चालेको दाबी गर्दै विद्यार्थीहरूले प्रशासनसँग पारदर्शिता र जवाफदेहिताको माग गरेका छन्।

मृतक साहिलकी आमाले भने आफ्ना छोरामाथि अत्याचार र दुर्व्यवहार भएको गम्भीर आरोप लगाएकी छन्। उनले आफ्नो छोराको हत्या भएको र उसलाई अत्यधिक मानसिक तनाव दिइएको भन्दै न्यायका लागि प्रहरीमा उजुरी दर्ता गराएको बताएकी छन्।

आईआईटी बम्बई क्याम्पसमा पछिल्लो छ महिनाभित्र आत्महत्याको यो तेस्रो घटना हो। यसअघि गत फेब्रुअरीमा होस्टेलमा दोस्रो वर्षका एक विद्यार्थी र जुलाईमा नयाँ सेमेस्टर सुरु हुने बित्तिकै बीटेक दोस्रो वर्षकै अर्का विद्यार्थीले आत्महत्या गरेका थिए। क्याम्पसमा स्थिति तनावग्रस्त बनेपछि शान्ति सुरक्षा कायम गर्न ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। वरिष्ठ प्रहरी अधिकारी दत्तात्रय नलवाडेका अनुसार घटनाको अनुसन्धान भइरहेको छ भने विद्यार्थी र प्रशासनबीच सहमति जुटाउन छलफल जारी रहेको एनडीटिभीले उल्लेख गरेको छ।

असोज ३, २०८३ शनिबार १४:१०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।