भोटेकोशी बाढीप्रभावित बालबालिकाका लागि शेष घलेले ५७ करोड ८५ लाख सहयोग गर्ने
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।
यस सम्बन्धी एक सम्झौतामा घले दम्पतिले नेतृत्व गरेको एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी (एमओयू)मा शुक्रबार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको हो। उक्त समारोहमा राष्ट्रिय बाल अधिकार परिषद्की अध्यक्ष पनि रहेकी मन्त्री सीता वादी पनि उपस्थित थिइन्।
राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्वर्धन गर्न स्थापित विशिष्टीकृत निकाय हो । सरकारले साविक केन्द्रीय बाल कल्याण समितिलाई राष्ट्रिय बाल अधिकार परिषदमा रुपान्तरण गरेको हो।
संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ)ले रसुवा बाढीबाट प्रभावित झन्डै १७ हजार बालबालिकालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको आवश्यकता रहेको जनाएको छ।
त्यस्तै अभिभावक वा संरक्षकविहीन तथा परिवारबाट छुट्टिएका ५०० भन्दा बढी बालबालिका उच्च जोखिममा रहेको र उनीहरूलाई संरक्षण सेवाको खाँचो रहेको युनिसेफले जनाएको छ।
फाउन्डेसनले कक्षा १२ सम्म अध्ययन गर्न सहयोग गर्ने
फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गर्न सहयोग गर्ने जनाएको छ।
सहयोगअन्तर्गत बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचारलगायत आधारभूत आवश्यकता पूरा गर्न खर्च गरिनेछ।
असोज ३, २०८३ शनिबार १३:१५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।